दीपक बाँस्तोलाको संयोजकत्वमा नेपाली उद्यमी संघ गठन
काठमाडौं । नयाँ उद्यमीहरु जन्माउने तथा समस्याहरु समाधान गर्ने उद्देश्यले इन्टरप्रेनर एसोसिएसन अफ नेपाल (नेपाली उद्यमी संघ) गठन गरिएको छ । नयाँ उद्यमीहरूको समस्याको पहिचान गरी समाधानको पहल गर्ने उद्देश्यले नेपाली उद्यमी संघ गठन गरिएको हो । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले युवा उद्यमी दीपक बाँस्तोलाको संयोजकत्वमा ५१ सदस्यीय संघ गठन गरिएको हो ।
संस्थाको सहसंयोजकमा हरि दाहाल र सचिवमा विशाल केसी चयन भएका छन् । नयाँ उद्यमीहरूलाई आवश्यक सबै प्रकारका सहयोग प्रदान गर्दै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समन्वयात्मक भूमिका खेल्न संस्था स्थापना गरिएको संस्थाका सचिव विशाल केसीले जानकारी दिए ।
‘हाम्रो योजना आइडिया बैंक बनाउने हो । त्यसबाट आइडिया कलेक्ट गरेर इन्भेस्टमेन्टका लागि नेसनल इन्क्युवेसन ल्याब बनाउने हाम्रो उद्देश्य हो,’ सचिव केसीले भने, ‘कैयौँ नयाँ उद्यमीसँग आइडिया भएर पनि पूँजी नहुने भएकाले आफूहरूले लगानी जुटाउन समन्वय गर्ने छौँ ।’
नयाँ उद्यममैत्री नीति अभावका कारण पनि नेपालमा समस्या देखिएको भन्दै केसीले भने, ‘नेपालसहित दक्षिण एसियाको पोलिसीहरू अध्ययन गर्ने र बेस्ट पोलिसी निर्माणका लागि सरकारलाई सपोर्टिङ थिंकट्यांकको रूपमा पनि काम गर्ने हाम्रो उद्देश्य हो ।’













