३५ हजार २ सय २१ जनप्रतिनिधि चुन्न आज मतदान हुँदै
काठमाण्डाै – आज स्थानीय तहमा ३५ हजार दुई सय २१ जना जनप्रतिनिधि छान्नका लागि मतदान हुदैछ । निर्वाचन आयोगका अनुसार चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार तीन सय १३ जना पुरुष गरी एक लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा रहेका छन् ।
विभिन्न राजनीतिक दलका ३ सय ५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा १० हजार सात सय ५६ मतदान केन्द्रका २१ हजार नाै सय ५५ मतदान स्थल रहेका छन् । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको आयोगले जनाएको छ ।
आयोगले लोभ र प्रलोभनमा नपरि आफूलाई मन परेको उम्मेदवारलाई ढुक्क भएर बदर नहुने गरी मत दिन आग्रह गरेको छ । आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि सुरक्षित तरिकाले गणना स्थलमा लगिने र जतिसक्यो छिटो गणना सुरु गर्ने तयारी आयोगको रहेको छ ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । मतदाता परिचयपत्र हराएका र कतै छुटेका व्यक्तिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी पुर्जाको आधारमा मत दिन पाउने आयोगले जनाएको छ ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ–आफ्नाे मतदान केन्द्र पुगिसकेका छन् । पालिका चुनावमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यस पटकको चुनावमा एक लाख जना म्यादी प्रहरीसहित दुई लाख ६० हजार सुरक्षा जनशक्तिले सुरक्षा दिँदैछन् । यसमध्ये ६५ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ७१ हजार जना सेना खटिएका छन् । मतदान स्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृह मन्त्रालयले जनाएको छ ।
देशभरका धेरैजसो मतदान केन्द्र र मतगणना स्थलमा यस पटक सीसीटिभी क्यामेरा जडान भएकाले पनि उच्छृङ्खल गतिविधि कम हुने प्रहरीको अनुमान छ ।













