१३ श्रावण २०८३, बुधबार

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घट्ने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्री परिषद्को पछिल्लो निर्णय अनुसार पेट्रालियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ घटाउने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको संसदमा जानकारी दिएका छन् । मन्त्रि परिषद्ले स्वीकृति दिएर अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि गएको उनले बताएका थिए । नेपाल आयल निगमले बजेटसम्बन्धी सुझाव दिँदा १० बुँदे सुझावमा पेट्रोल, डिजेल र मट्टितेलमा १० रुपैयाँ र एलपीजी ग्याँसमा १०० रुपैयाँ कर छुट गर्ने प्रस्ताव गरेको थियो । सरकारले कुन शिर्षकमा कसरी घटाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

हाल सरकारले भन्सार विन्दुमा नै पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र डिजेल÷मट्टितेलमा १२ रुपैयाँ २ पैसा र पूर्वाधार शुल्क बापत प्रतिलिटर समान १० रुपैयाँ शुल्क उठाइरहेको छ ।