१३ श्रावण २०८३, बुधबार

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १.६८ करोड, एक शाखाबाट २ हजार ५७२ जनाले सेवा पाउँछन्



काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या सवा ४ करोड पुगेका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८–७९ मा फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ४ करोड २४ लाख ५१ हजार पुगेका छन् ।

त्यस्तै, कर्जा खाताको संख्या १८ ला ३७ हजार पुगेका छन् । पछिल्लो समय सरकारले डिजिटल नेपालको नारा बोकेको छ । सर्वेक्षण प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा ४६ लाख ८० हजार निक्षेप खाता र १ लाख ३५ हजार कर्जा खाता थप भएका हुन् ।

सोही बमोजिम डिजिटल कारोबार गर्न मोबाइल बंैकिङ्ग प्रयोगकर्ताको संख्या पनि बढेको छ । फागुनसम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या १ करोड ६८ लाख ४८ हजार पुगेका छन् भने इन्टरनेट बैंकिङ्ग सेवाका प्रयोगकर्ता संख्या १६ लाख ९ हजार रहेका छन् ।

२०७८ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या (लघुवित्त) का आधारमा प्रतिशाखा जनसंख्या औसत २ हजार ५७२ मा झरेको छ । यसअघि २०७७ फागुनसम्ममा प्रतिशाखा जनसंख्या २ हजार ९१३ जना रहेका थिए । मर्जर तथा प्राप्तिमा प्रदान गरिएको प्रोत्साहनका कारण बैंक तथा वित्तीय संस्थाको संख्या १२८ रहेका छन् ।