प्रतिकित्ता १ सय रुपैयाँमा अपि पावरको साढे ४ लाख कित्ता शेयर बिक्री खुला, आवेदन कसरी दिने ?
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आज (जेठ १८ गते, बुधबार) देखि बिक्री खुला गरिएको छ । । कम्पनीले आजदेखि साढे ४ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको हो ।
कम्पनीले चैत्र २५ गतेदेखि वैशाख १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको हो ।
कम्पनीको उक्त अवितरित हकप्रद शेयरमा लगानीकर्ताले जेठ २६ गते, बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्निेछन् । कम्पनीको उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको उक्त शेयरमा लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
उक्त शेयरमा लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ, अपि पावर कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।













