१२ श्रावण २०८३, मंगलबार

माल्दिभ्स पुगेर अध्यक्ष सिलवालको प्रश्न: नेपाली बीमा कम्पनीलाई शाखा कार्यालय खोल्न कस्तो व्यवस्था छ ?’



नेपाली बीमा कम्पनीलाई माल्दिभ्समा सजिलै शाखा कार्यालय खोल्न सक्छ

बीमा समितिका अध्यक्ष सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको छ ।

माल्दिभ्सको बैङ्क, धितोपत्र बजार सहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा बुधबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीको सहभागी रहेको थियो ।

यसैगरी माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी थियो ।

बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन स्तरीय बीमा नियमनकारी निकायहरूको सङ्गठन SAARC Insurance Regulator’s Forum लाई पुनः सक्रिय बनाउनुपर्ने बताएका थिए । माल्दिभम्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले उक्त प्रस्तावलाई सकारात्मकरूपमा लिँदै फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटवार्ताकै क्रममा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भनी राखेको जिज्ञासामा माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्नसक्ने व्यवस्था रहेको जानकारी दिए । अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उक्त अवसरमा बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्याङ्क आदि आदान प्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।