१४ श्रावण २०८३, बिहिबार

नेपाल डिस्टिलरिजको ५ बुँदे प्रतिबद्धताः उत्पादनका बेला निस्किने फोहोर शून्यमा झार्ने देखि बोतल पुनः प्रयोग गर्ने



काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा दि नेपाल डिस्टिलरिज प्रालिले विभिन्न प्रतिवद्धता जनाएको छ । कम्पनीले दिनवशका अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि विभिन्न ५ बुँदे प्रतिबद्धता जनाएको बताएको छ ।

नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।
यस्ता छन् प्रतिबद्धताः
१.हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा सतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं ।

२.हामी सन् २०३२ सम्ममा सतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौं । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौं ।

३.हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

४.हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौं । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्नेछौं ।

५.एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य (अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौं ।