१४ श्रावण २०८३, बिहिबार

प्रतिकित्ता १ सय रुपैयाँमा एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता शेयर बिक्रीमा, कसरी आवेदन दिने ?



काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले २०७८ साल साउन ५ गतेदेखि २०७८ साल भदौ ८ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समुहको ३ करोड ३० लाख कित्ता शेयरको लागि आवेदन नपरेकाले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको शेयर खरिद गर्दै शेयरधनीहरु समूह ‘क’ को उप–समूह ‘क–२’ अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा रहनेछन् । उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएपश्चात् ‘एचआईडीसिएलपी’ संकेतमा कारोबार गर्न योग्य हुनेछ । प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेप्से मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत ‘क’ को उप–समूह ‘क–२’ अन्तर्गतको ‘अन्य संस्थापक’ उप–समूहमा नै रहनेछ ।

कम्पनीको उक्त शेयरमा असार ५ गतेदेखि असार १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्त शेयरको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयलहरु क्रमशः विर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौडा, नारायाणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बागलुङ्ग, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र पेश गर्न सकिन्छ ।