१२ श्रावण २०८३, मंगलबार

लाभांश र मर्जर प्रस्ताव पारित गर्दै लुम्बिनी जनरलको साधारण सभा सम्पन्न, ४ जना संचालक निर्वाचित



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १७ औं साधारणसभा सम्पन्न भएको छ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण र अनुसूचीहरु पारित गरेको छ ।

सभामा लेखा परिक्षण समितिको सिफारिसमा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने, हालको लेखापरिक्षक एसएआर एसोसिएटसलाई पुनः नियुक्ति गर्ने प्रस्ताव र स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्तिलाई पारित गरेको हो ।

कम्पनीको सभाले अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने, प्रबन्धपत्रको दफा संशोधन गर्ने, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, अन्य कुनै कम्पनीसंग प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजन गर्न उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको लागि सैदान्तिक स्वीकृतिका लागि समिति समक्ष निवेदन दिने, सम्पति वा दायित्वको मुल्याङकन गर्न मुल्याङकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गरेको छ ।

यससँगै सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा सञ्चालक विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेका छन् ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ असार १४ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिएका थिए ।