असार महिनामा बैंकहरुमा निक्षेप १ खर्ब ४१ अर्ब थपिदा कर्जा प्रवाह घट्यो, सिडी रेसियो कति ?
काठमाडौं । असारमा बैंकहरुमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार निक्षेप असार मसान्तसम्म आइपुग्दा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने जेठ महिनाको अन्तिम दिन ३१ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । जुन यस अवधिमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप बैकिङ प्रणालीमा आएको हो ।
यस महिनाको पहिलो हप्तासम्म ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा दोस्रो हप्ता आइपुग्दा ४ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । असार १७ गतेसम्म ४४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो भने असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको थियो । असार २४ गतेदेखि ३२ गतेसम्म ४७ अर्ब रुपैयाँले बढेर वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ मसान्तको तुलनामा असार महिनामा १८ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको हो । जेठ ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा असार ३२ गतेसम्म आइपुग्दा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको संघले जनाएको छ ।
असार मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.४१ प्रतिशत रहेको छ।













