१८३ वटा स्थानीय तहमा अझै पेश भएन बजेट
काठमाडौं । स्थानिय तहले असार मसान्तमा पेश गरिसक्नु पर्ने बजेट अझै पेश गरेको छैन । साउन ६ गतेसम्ममा १८३ वटा स्थानीय तहले बजेट पेश गरेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश जारी गरेको छ ।
कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेश गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् ।
हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।













