एचआइडीसीएलले साउन १५ गतेबाट संस्थापक सेयर पुनः लिलामी ल्याउने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले साउन १५ गतेबाट संस्थापक सेयर पुनः लिलामी गर्ने भएको छ । कम्पनीले कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी गर्ने लागेको हो ।
यस अघि पनि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम समपूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ ।













