ज्योति विकास बैंकको १४ औं वार्षिकोत्सवमा आधुनिक भिडियो बैंकिङको सेवा सुरु
काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ । बैंकले सोमबार कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयर धनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयर धनी तथा भूतपूर्व अध्यक्ष ध्रुव राज भट्टराईको पनि उपस्थिति रहेको थियो ।
१४ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले ज्योति भिडियो बैंकिङ सेवाको शुभारम्भ गरेको छ । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने सेवा पनि सुरु गरेको हो । अव ग्राहकहरूले ज्योति विकास बैंकमा खाता खोल्न बैंकमै धाउन नपर्ने भएको छ ।
बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई पनि सम्मान गरेको हो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रूपमा कर्मचारीहरूलाई पदक तथा कदर पत्र प्रदान गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राधा पौडेल फाउन्डेसन सँग “मर्यादित महिनावारी” सचेतनामा आधारित परियोजनाहरूमा सहकार्यका लागि सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मूल्य मान्यताहरूको अधीनमा रही बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरिकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको उपत्यका र उपत्यकाबाहिर ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटिएम पुगेको छ ।













