७ श्रावण २०८३, बिहिबार

मर्जरले बढायो नबीलको वासलात, यस्तो छ एकीकृत वित्तीय अवस्था



काठमाडौँ । गएको २७ असारमा एकीकृत कारोबार गर्ने गरी नेपाल बंगलादेश बैंकलाई प्रतिकित्ता ४३ रुपैयाँमा गाभेको नबिल बैंकले नाफामा भारी बृद्धि देखिने गरी वित्तीय विवरण सार्वजनिक गरेकोे छ । तर यो वित्तीय विवरण दुई बैंक गाभिएपछिको हो भन्ने तथ्य एकछिनलाई विर्सियो भने भ्रमित भइने छ ।

बंगलादेश बैंक गाभिँदा पनि नबलिको नाफा अघिल्लो सालभन्दा १० प्रतिशतमात्रै बढेको छ । गत आर्थिक वर्षख नबीलले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएको छ । जबकी अघिल्लो वर्ष यस्तो नाफा ४ अर्ब ५२ करोड थियो । बैंकले एनबि बैंकबाट आएको नाफाबापतको १ अर्ब २ करोड रूपैयाँ जगेडा कोषमा राखेको भनेको छ । यसले गर्दा नाफा रकम कम देखिएको बैंकको प्रष्टोक्ति छ ।

गत वर्षको नाफाबाट बैंकले ९ अर्ब १२ करोड रुपैयाँ लाभांश वितरणमा प्रयोग गर्न सक्ने भएको छ । सस्तो भाउमा अर्को बैंक किन्दा मोलमोलाइमा हुने नाफालाई पनि बैंकले आफ्नो नाफाकै रुपमा देखाउन सक्छ । यसले पनि बैंकको नाफा बढाउँछ । एनबी गाभिएपछि २२ अर्ब ८३ करोडभन्दा बढी पूँजी भएको यो बैंकले वितरणयोग्य मुनाफामा १२० प्रतिशतको बढोत्तरी देखिए पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ । अधिकांश बैंकको मूल्य आम्दानी अनुपात २० गुणाभन्दा तल झरिसकेको भए पनि नबीलको मर्जरका कारण शेयरको मूल्य घट््न नपाउँदा असार मसान्तसम्म यसको सेयर अधिमूल्यन् नै थियो ।

मर्जरपछि बैंकको कारोबारको आधार करीब डेढ गुणा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब १ अर्ब कर्जा लगानी गरेको छ । यसरी ५२ प्रतिशतको कर्जा विस्तारमा नबिलको आफ्नै आक्रामक मार्केटिङ र मर्जर दुबैले काम गरेका छन् । यद्यपि, बैंकको ब्याज तथा शुल्क आम्दानीमा भने उल्लेख्य सुधार देखिँदैन । मर्जरपछि बैंकको जगेडा कोषको आकार २६ अर्ब ३७ करोड पुगेको छ । चुक्ता पूँजीको लगभग बराबर जगेडा कोष हुनुले बैंकलाई औसत रुपमा मजबुत नै देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्