दोर्दीखोला जलविद्युत् आयोजनाबाट २७ मेगावाट क्षमताको बिजुली उत्पादन परीक्षण सुरू
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरू गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यो आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आइतबारदेखि बिजुली उत्पादन परीक्षण सुरू गरेको हो ।
’हामीले केही महिनाअघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो,’ आयोजना प्रमुख मुन्ना शाक्यले बताए । यहा प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार/पाँच दिनसम्म परीक्षण चल्ने उनको भनाइ छ । परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिनेछ । उनले भने ।
यसअघि आयोजनाले विभिन्न भागको परीक्षण गरेको थियो। आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ ।
पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप बिछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ छ। आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ‘ग्रसहेड’ छ। बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावर हाउस छ।
वि.सं २०७२ फागुनदेखि निर्माण सुरू गरिएको यो आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुगेको क्षति, कोरोना निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटकपटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको हो।
पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएको थियो। सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो। बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्मको निर्माण अवधि रहेको तर सम्पन्न हुन नसकेको र पटकपटक समय थप गर्दै आएको यस आयोजनाले बल्ल बिजुली उत्पादन परीक्षण थालेको हो।
सुरूमा चार अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमानका साथ आयोजना निर्माण थालिएको थियो। निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ३५.७ प्रतिशत, आईएमई ग्रुपको ३४.३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ। विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो।
आयोजनाका अनुसार सुख्खा याममा आठ रूपैयाँ ४० पैसा र वर्षायाममा चार रूपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ। जिल्लामा यस आयोजनाबाहेक अन्य आयोजनाले समेत निर्धारित समयमा आयोजना निर्माण सम्पन्न नभएपछि म्याद थप गर्दै अघि बढिरहे पनि चाँडै बिजुली उत्पादन गर्ने तयारीमा छन्।













