गोर्खाज फाइनान्सको लोभलाग्दो प्रगति: नाफामा शतप्रतिशत वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य सुधार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गोर्खाज फाइनान्सको लोभलाग्दो प्रगति: नाफामा शतप्रतिशत वृद्धि, अन्य सूचकमा पनि उल्लेख्य सुधार



काठमाडौं । गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा १०१.०५ प्रतिशतले वृद्धि भएको छ ।

विवरण अनुसार चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा गरेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १०१.०५ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा कम्पनीले १ करोड ६५ लाख ७० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि उल्लेख्य मात्र सुधार भएको छ । गत वर्षको असोज मसान्तमा २४ लाख ७७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने ८ करोड ११ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको तीन महिनामा कम्पनीको खुद संचालन आम्दानी पनि ३४.९१ प्रतिशतले वृद्धि भई १० करोड ९५ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा पनि ७६.१९ प्रतिशतले वृद्धि भई ४ करोड ८५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७२ करोड ७३ लाख ८१ हजार रुपैयाँ राखेको छ ।

चालु आवको तीन महिनामा कम्पनीको खराब कर्जा पनि १.९५ प्रतिशतले घटेर ७.४२ प्रतिशतमा झरेको छ । गत वर्षको असोज मसान्तमा भने कम्पनीको खराब कर्जा ९.३७ प्रतिशत रहेको थियो ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३५ पैसा, प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा रहेको छ ।

बजारमा देखिएको तरलता संकुचनका कारण यस त्रैमासमा निक्षेप तथा कर्जा लगानीमा गिरावट आएपनि संचालन मुनाफामा रहेको कम्पनीले जनाएको छ।

आगामी दिनमा निक्षेपमा वृद्धि र कर्जा निक्षेपको अनुपातलाई तोकिएको अनुपातमा काय राखी थप कर्जा विस्तार गरि मुनाफा वृद्धि गर्ने कम्पनीले रणनैतिक योजना बनाएको छ।

कम्पनीले लगानीका नयाँ क्षेत्रहरु पहिचान गरि लगानी गर्ने, कर्मचारीहरुको निरन्तर वृद्धि विकासमा जोड, जोखिम पहिचान गरि न्युनिकरण गर्ने, चल्ती तथा बचत निक्षेप र साना तथा मझौला कर्जामा जोडदिने रणनीति बनाएको गोर्खाज फाइनान्सका अध्यक्ष डेकिन्द्र कुमार राईले जानकारी दिए । उनका अनुसार कम्पनीले विद्यमान ऐन कानुन तथा नीति नियम र नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनहरु मुताविक नै आफ्नो व्यवसाय संचालन गर्दै आएको बताए ।

कम्पनीले आन्तरिक नियन्त्र प्रणालीलाई व्यवस्थित गर्न लेखापरिक्षकबाट त्रैमासिक रुपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिएको सुझावहरुलाई कार्यान्वयन गर्दै आएको जनाएको छ ।

यसका साथै आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा राष्ट्र बैंकबाट समय समयमा हुने निरीक्षणबाट प्राप्त सुझावहरुको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई सुदृढ बनाउन संचालक समिति र व्यवसस्थापन प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्