जीवन बीमा कम्पनीको बीमा शुल्क ४६ अर्ब: नेपाल लाइफको अग्रता कायमै, पच्छ्याउँदै एलआईसी र नेशनल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनामा ४६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण हालै प्रकाशित गरेको जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्म १९ कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले कात्तिक महिनामा मात्रै १० अर्ब २३ करोड ४६ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ।
कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो अवधिमा कम्पनीले १२ अर्ब ९१ करोड ४६ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै १ अर्ब १० करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो स्थानमा रहेको लाइफ नेपाल कपोरेशनले भने कात्तिक मसान्तसम्ममा ५ अर्ब ७६ करोड ६५ लाख ४२ हजार रुपैयाँ बीमा शुल्क अर्जान रहेको छ । कात्तिकमा मात्रै कम्पनीले १ अर्ब २४ करोड ९० लाख ६८ हजार रुपैया संकलन गरेको थियो । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेको तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४९ करोड २ लाख रुपैयाँ शुल्क आर्जन गरेको हो । कम्पनीले एक महिनामा मात्रै (कात्तिक) १ अर्ब १० करोड ९८ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सो अवधिमा सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफको भने ५२ करोड ७३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यो शुल्क कात्तिक महिनासम्मको हो । तर, कात्तिक महिनामा मात्रै कम्पनीले १२ करोड २० लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आवको चार महिनामा युनियन लाइफको बीमा शुल्क २ अर्ब ५० करोड १० लाख, एशियन लाइफको २ कराड २७ लाख, सिटिजन लाइफ १ अर्ब ८३ करोड ३ लाख, सूर्या लाइफको १ अर्ब ७१ करोड ८९ लाख, प्राइम लाइफले १ अर्ब ५३ करोड ६४ लाख, मेट लाइफको १ अर्ब ६८ करोड १९ लाख, राष्ट्रिय बीमा संस्थानको १ अर्ब ४८ करोड १३ लाख, सन नेपाल लाइफले १ अर्ब ३४ करोड ८४ लाख, ज्योति लाइफको १ अर्ब १८ करोड ८५ लाख, रिलायबल नेपालको १ अर्ब १४ करोड ३७ लाख, आइएमई लाइफको १ अर्ब १५ करोड १० लाख, रिलायन्स लाइफको १ अर्ब २ करोड २६ लाख रुपैयाँ रहेको छ ।
यस्तै कात्तिक मसान्तसम्ममा गुराँस लाइफको बीमा शुल्क ९४ करोड ४३ लाख रुपैयाँ, सानिमा लाइफको ८१ करोड १८ लाख, प्रभु लाइफको ६७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।













