खस्किदै घरजग्गा कारोबार: पर्याप्त कर्जा प्रवाह नहुँदा झनै प्रभावित, राजश्वमा पनि कमी
काठमाडौं । पछिल्लो समय घर जग्गा कारोबारमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरुदेखि घर जग्गा कारोबार घटेको हो ।
अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति नभएको विभागले जनाएको छ । सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको हो ।
धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ । तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा कमी आउन थालेको हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न नसक्दा पनि घरजग्गा कारोबार प्रभावित भएको बताइएको छ ।
चालु आवको पहिलो महिनाको तुलनामा पछिल्लो मंसिरसम्म घर जग्गा कारोबार १३ प्रतिशतले घटेको हो । भुमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा २९ हजार १८४ वटा घर जग्गा लिखित पारित भएको छ । सो अवधिमा २ हजार ५११ नामसारी, ३ हजार ९४ संशोधन, २५ हजार ६०८ रोक्का, १८ हजार ३७३ फुकुवा र ८३७ वटा घर जग्गा दाखिला खारेज भएको विभागले जनाएको छ ।
यद्यपि, गत कात्तिकको तुलनामा भने मंसिरमा घर जग्गा कारोबार सामान्य वृद्धि भएको छ । कात्तिक २७ हजार ९३९ वटा घरजग्गा कारोबार भएकोमा मंसिर मसान्तसम्म भने ४.४५ प्रतिशतले मात्र वृद्धि हो । विभागका अनुसार मंसिरमा सबैभन्दा बढी कारोबार नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार ३८२ घरजग्गा किनबेच भएको छ । दोस्रो स्थानमा रहेको इनरुवा मालपोत कार्यालयबाट १ हजार २३३ वटा, बेलाबारी मोरङबाट १ हजार २४ वटा घरजग्गाको कारोबार भएको विभागले जनाएको छ । यस्तै, भद्रपुर झापाबाट ८२३, धनगढीबाट ८०१, चितवनबाट ७९०, तुलसीपुर दाङबाट ७८६, बुटवल रुपन्देहीबाट ७४१ र लगनखेलबाट ७१५ घरजग्गा किनबेच भएको छ ।
र, चालु आवको पहिलो महिना (साउन) मा भने ३३ हजार ८३४ वटा घर जग्गा लिखित पारित भएको विभागको तथ्याङ्कमा उल्लेख छ । साउनमा ३ हजार १३२ वटा नामसारी, ३ हजार १९१ संशोधन, २८ हजार ८८ रोक्का र १९ हजार ९१३ वटा फुकुवा भएको थियो । यस्तै, भदौ महिनामा ३४ हजार ७२० वटा लिखित पारित, २ हजार ८३९ नामसारी, ३ हजार ६२६ संशोधन, ३६ हजार २८९ रोक्का र १९ हजार ९५६ वटा फुकुवा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार असोज भने २५ हजार ७८९ वटा लिखित पारित, २ हजार ३३९ नामसारी, २ हजार ४३० संशोधन, २४ हजार २५२ रोक्का र १३ हजार ३३९ वटा घर जग्गा फुकुवा भएको थियो ।
ग्रामिण क्षेत्रका घरजग्ग्गा किनबेचले घट्यो राजस्व
चालु आवको मंसिर महिनामा ग्रामिण क्षेत्रलक्षित घरजग्गा कारोबार हुँदा राजश्व घटेको छ । कात्तिकको तुलनामा कारोबार बढेपनि राजस्व संकलन कम भएको विभागले जनाएको छ ।
विभागका अनुसार मंसिरमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको हो । तर, गत कात्तिकको तुलनामा २९.५९ प्रतिशतले कमी हो । गत कात्तिकमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ७६ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । सो अवधिमा सेवा करबापत १७ करोड ८ लाख रुपैयाँ, बागमतिबापत ६ करोड ७६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ४४ करोड २४ लाख रुपैयाँ, पूँजीगत लाभकरबापत ७२ करोड ७८ लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत १ करोड ६० लाखरुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ ।
देशभरका मालपोत कार्यालयमध्ये मंसिरमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले राजश्व उठेको छ । सो अवधिमा लगानखेल कार्यालयबाट २० करोड ७१ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ । त्यस्तै, डिल्लीबजारबाट १५ करोड २५ लाख रुपैयाँ, कलंकीबाट १४ करोड ८५ लाख, चावहिलबाट १४ करोड ३० लाख, भक्तपुरबाट १३ करोड ५१ लाख, चितवनबाट १० करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
१३ हजार बढी कित्ताकाट
चालु आवको मंसिर महिनामा देशभर १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता कायम भएको छ । तर, गत कात्तिकमा भने कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता कायम भएको थियो ।
असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ वटा कित्ता कायम भएको विभागले जनाएको छ । भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता र साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो ।













