एनआइबीएल ग्रोथ फण्डमा आवेदन दिने म्याद थप
काठमाडौं । एनआइबीएल ग्रोथ फण्डमा आवेदन दिने म्याद थप भएको छ । पुष ७ गतेदेखि बिक्रीमा ल्याएको फण्डमा आवेदन दिने आज (पुष १२ गते) अन्तिम दिन भए पनि माग बमोजिमको आवेदन नपरेपछि पुष २१ गतेसम्म लम्बिएको हो ।
एनआइबीएल ग्रोथ फण्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ । बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्ने कम्पनीले जनाएको छ ।













