ग्लोबल आइएमई र बिओकेलाई मर्जरमा जान राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जरमा जानका लागि राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् ।
यी दुवै बैंकलाई मर्जरमा राष्ट्र बैंकले स्वीकृति दिएको हो । शुक्रबार बसेका राष्ट्र बैंकको संचालक समितिको बैठकले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी दुवै बैंकहरूलाई एकिकृत कारोबार थालनीको बाटो खुल्नेछ ।
दुवै बैंक समान सेयर अनुपात (१ः१) मा मर्जरमा जान लागेका हुन् । मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । यस्तै, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुनेछ । मर्जपछि चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
मर्जरमा जानका लागि यी दुवै बैंकले गत असार २ गते सम्झौता गरेका थिए । मर्जरपछि ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालन हुने प्रारम्भिक सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष), प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको थियो । समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख छ । एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको बताइएको छ ।
ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।













