मेगा बैंकमा १०० कित्ता हुनेले इन्भेष्टमेन्टको ९० कित्ता सेयर पाउने, मर्जरमा जान राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाएका छन् ।
नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी दुवै बैंकहरूलाई एकिकृत कारोबार थालनीको बाटो खुल्नेछ ।
यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ । यी दुवै बैंकको एकीकृत कारोबार भने पुस मसान्तभित्र हुने बताइएको छ ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।













