११ श्रावण २०८३, सोमबार

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क साढे ५९ अर्ब, नेपाल लाइफलाई पच्छाउँदै एलआईसी र नेशनल



काठमाडौं । जीवन बीमा कम्पनीहरुले पाँच महिनामा साढे ५९ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६३२ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको मासिक तथ्याङ्क विवरणले यस्तो देखाएको हो ।

गत कात्तिक महिनासम्मको तुलनामा भने कम्पनीहरुले यो बीमा शुल्क आर्जन रकम २९.३५ प्रतिशतले बढी हो । सो अवधिसम्ममा कम्पनीहरुले जीवन बीमा व्यवसायबाट ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको मंसिर महिनासम्म कुल सक्रिय बीमालेखको संख्या भने १ करोड ३९ लाख ८६ हजाजर ५०५ रहेको छ।

प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ९ लाख २८ हजार ४०६ रहेको छ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ७ अर्ब २ करोड ५१ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या ६ लाख ८६ हजार ९०२ रहेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले सो अवधिमा ६ अर्ब ५३ करोड ८४ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको सो अवधिमा कुल सक्रिय बीमालेखको संख्या भने १५ लाख २४ हजार ७१ रहेको छ।

चालु आवको मंसिर महिनासम्ममा सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफले आर्जन गरेको छ। कम्पनीले सो अवधिमा ६२ करोड ३ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको हो ।

सो अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५६ करोड १२ लाख ७७ हजार रुपैयाँ, युनियन लाइफले ३ अर्ब ३ करोड ३१ लाख, एशियन लाइफले २ अर्ब ८० करोड ४८ लाख, सिटिजन लाइफले २ अर्ब २० करोड २८ लाख, मेट लाइफले २ अर्ब ९ करोड ५८ लाख, सुर्या लाइफले २ अर्ब २ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, प्राइम लाइफले १ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ६३ करोड १६ लाख, आइएमई लाइफले १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ, ज्योति लाइफले १ अर्ब ४३ करोड २८ लाख, रिलायन्स लाइफले १ अर्ब २१ करोड ८५ लाख, गुराँस लाइफले १ अर्ब १५ करोड ५६ लाख, सानिमा लाइफले १ अर्ब २३ लाख र प्रभु लाइफले ८२ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।