११ श्रावण २०८३, सोमबार

बीमा कम्पनीहरुले आर्जन गरे साढे ७५ अर्ब बीमा शुल्क, जीवन र निर्जीवन बीमा व्यवसायमा कुन कति अब्बल ?



काठमाडौं । बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन साढे ७५ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा र जीवन बीमा कम्पनीहरुले ७५ अर्ब ४९ करोड ४६ लाख ९९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित बीमा क्षेत्रको मंसिर महिनासम्मको विवरणले यस्तो देखाएको हो । प्राधिकरणको विवरण अनुसार जीवन बीमा कम्पनीले ५९ अर्ब ५१ करोड ६२ लाख १७ हजार रुपैयाँ र निर्जीवन बीमा तर्फका कम्पनीले १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

जुन, गत वर्षको मंसिर मसान्तसम्मको तुलनामा भने बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २.६४ प्रतिशतले मात्रै वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ७३ अर्ब ५५ करोड ६३ लाख ५ हजार रुपैयाँ संकलन गरेका थिए । सोमध्ये जीवन बीमा कम्पनीले ५८ अर्ब १२ करोड ९३ लाख ९६ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १५ अर्ब ४२ करोड ६९ लाख ९ हजार रुपैयाँ संकलन गरेका थिए ।

चालु वर्षको मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीले कुल १ करोड ३९ लाख ८६ हजार ५०५ र निर्जीवन बीमा कम्पनीले ११ लाख ४७ हजार २६४ बीमालेख जारी गरेका थिए । प्राधिकरणका अनुसार गत वर्षको मंसिर महिनाको तुलनामा भने जीवन बीमालेखको संख्या ४५.४० प्रतिशतले बढेको छ भने निर्जीवन बीमालेख भने ८.०९ प्रतिशतले कमी देखिएको छ। सो अवधिमा कम्पनीहरुले क्रमशः ९६ लाख १९ हजार ४४७ र १२ लाख ४८ हजार १९२ बीमालेख जारी गरेका थिए ।

जीवन बीमा कम्पनीले उठाए साढे ५९ अर्ब, नेपाल लाइफलाई पच्छाउँदै एलआईसी र नेशनल

चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६३२ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । गत कात्तिक महिनासम्मको तुलनामा भने कम्पनीहरुले यो बीमा शुल्क आर्जन रकम २९.३५ प्रतिशतले बढी हो । सो अवधिसम्ममा कम्पनीहरुले जीवन बीमा व्यवसायबाट ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क ४८ अर्ब २४ करोड ५३ लाख २३ हजार र प्रथम बीमा शुल्क ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ रहेको छ । सो अवधिमा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले लघुबीमाबाट कुल ९५ करोड ३१ लाख १९ हजार रुपैयाँ र वैदेशिक रोज बीमा मार्फत १ अर्ब ४३ करोड ९४ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणको अनुसार चालु आवको मंसिर महिनासम्म कुल सक्रिय बीमालेखको संख्या भने १ करोड ३९ लाख ८६ हजाजर ५०५ रहेको छ ।

सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । कम्पनीले मंसिर मसान्तसम्ममा १५ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ९ लाख २८ हजार ४०६ रहेको छ । दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ७ अर्ब २ करोड ५१ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या ६ लाख ८६ हजार ९०२ रहेको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले सो अवधिमा ६ अर्ब ५३ करोड ८४ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको सो अवधिमा कुल सक्रिय बीमालेखको संख्या भने १५ लाख २४ हजार ७१ रहेको छ।

चालु आवको मंसिर महिनासम्ममा सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफले आर्जन गरेको छ। कम्पनीले सो अवधिमा ६२ करोड ३ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको हो । सो अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५६ करोड १२ लाख ७७ हजार रुपैयाँ, युनियन लाइफले ३ अर्ब ३ करोड ३१ लाख, एशियन लाइफले २ अर्ब ८० करोड ४८ लाख, सिटिजन लाइफले २ अर्ब २० करोड २८ लाख, मेट लाइफले २ अर्ब ९ करोड ५८ लाख, सुर्या लाइफले २ अर्ब २ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, प्राइम लाइफले १ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ६३ करोड १६ लाख, आइएमई लाइफले १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ, ज्योति लाइफले १ अर्ब ४३ करोड २८ लाख, रिलायन्स लाइफले १ अर्ब २१ करोड ८५ लाख, गुराँस लाइफले १ अर्ब १५ करोड ५६ लाख, सानिमा लाइफले १ अर्ब २३ लाख र प्रभु लाइफले ८२ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन बीमाको बीमा शुल्क १६ अर्ब, शिखरको पछि पछि तीन कम्पनी

चालु आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सको रहेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ५४ करोड ५ लाख ४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थान राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ७८ लाख ७७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सो अवधिमा सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।सो अवधिमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब २९ करोड ४४ लाख ३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै मंसिर मसान्तसम्म सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड, एनएलजीले ९३ करोड ८० लाख, प्रिमियरले ९० करोड १३ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरलले ७९ करोड ७९ लाख, आइएमई जनरलले ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरि अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० रोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।