बिओकेसंग मर्जपछि मुलुककै ठुलो बैंक बन्यो ग्लोबल आइएमई : पुस २५ गतेदेखि एकीकृत कारोबार, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डुले एकीकृत कारोबार थालनी गर्ने भएका छन् ।
यी दुवै बैंक मर्जपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । एकीकृत कारोबार शुभारम्भ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन् गर्ने बैंकले जनाएको छ । एकीकृत कारोबारको शुभारम्भमा प्रधानमन्त्री, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल लगायतको उपस्थितिमा भव्य उद्घाटनको तयारी रहेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ । एकिकृत कारोबार शुरू हुनेभएपछि डाटा माईग्रेसन प्रयोजनको लागि पुस २२, २३ र २४ गते सम्पूर्ण बैकिङ्ग सेवाहरू बन्द रहने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो । मर्जरमा जानका लागि यी दुवै बैंकले गत असार २ गते सम्झौता गरेका थिए ।
मर्जरपछि बन्ने नयाँ संस्थाको चुक्ता पुँजी करिब ३४ अर्ब हुनेछ । उक्त बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड हुनेछ । यस्तै, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुने छ । मर्जपछि चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल (हाल ग्लोबल आईएमई बैंकका अध्यक्ष), प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबलआईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको थियो । मर्जपछि बन्ने बैंकका बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवण कुमार मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।
शाखा संख्या करिव ३७५ रही ४ हजार जनशक्तिबाट बैंक परिचालन हुनेछ । विगतमा थुप्रै वित्तीय संस्थाहरुलाई गाभेर संचालनमा ल्याउँदाका खारिएका अनुभवहरु बैंक अफ काठमाण्डूसँगको मर्जर पश्चात् पनि उपयोगी हुने बैंकको विश्वास छ । मर्जरपछि एक सबल र नेपालकै सबैभन्दा ठुलो बैंक बनेको छ।
पूँजी सहित व्यवसाय विस्तारमा मुलुकको सबैभन्दा ठूलो बैंक बन्ने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । बैंक अफ काठमाण्डूसँगको मर्जर बैंकको व्यावसायिक जीवनको ठुलो सकारात्मक फड्को हुने विश्वास लिईएको अध्यक्ष ढकालको भनाई छ । मर्जर पश्चात बैंकको व्यवसायिकतामा थप सुधार भई सेयरधनीहरुलाई बढीभन्दा बढी मुनाफा दिन सक्ने बैंक हुने अध्यक्ष ढकालको विश्वास छ ।
ग्लोबल आईएमई बैंकले यसअघि कमर्ज एन्ड ट्रस्ट, जनतालगायत दर्जन बढी बैंकलाई गाभिसकेको छ भने बीओकेले पनि यसअघि लुम्बीनी बैंकसँग मर्जर भएको हो ।













