बुटवल पावर कम्पनी ३०औं साधारण सभा सम्पन्न, लाभांश सहित के के एजेण्डा भए पारित ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुष ३० गते कार्की व्यांक्वेट, बबरमहल, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभाले शेयरधनीहरुलाई आ.व. २०७८÷७९ को खुद मुनाफा तथा संचित नाफावाट चुक्त पूँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा ५ प्रतिशत बोनस शेयर जारी गर्ने लगायत संचालक समितिवाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ । नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ । बोनस शेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय रुपैयाँ कायम हुनेछ ।
कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् । साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ ।
लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । यद्यपी नेपाल विद्युत प्राधिकरणले वर्षायाममा सबै विद्युत नलिएका कारण सो आयोजनालाई मार्का पर्न गएको छ ।
३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी भैरहेको छ ।
तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् । मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य चालु आ.व. भित्रै शुरु हुनेछ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माणको तयारीमा रहेको छ । १६० मे.वा. को मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन ।













