११ श्रावण २०८३, सोमबार

भारतीय जीवन बीमा: नौ महिनामै कमाए २७ खर्ब प्रथम बीमाशुल्क, पौने २ करोड नयाँ पोलिसी बिक्री

भारतीय जीवन बीमा: नौ महिनामै कमाए २७ खर्ब प्रथम बीमाशुल्क, पौने २ करोड नयाँ पोलिसी बिक्री



काठमाडौं । चालु आर्थिक बर्ष २०२२/२३ को तेस्रो त्रैमाससम्म भारतीय जीवन बीमा बजारले २६ खर्ब ९१ अर्ब ९० करोड भारतीय रुपैयाँ (भारु) नयाँ (प्रथम) बीमाशुल्क संकलन गरेको छ ।

भारतको बीमा नियामक निकाय इन्स्योरेन्स रेगुलटरी एन्ड डेभलपमेन्ट एथोरिटी अफ इन्डीया (आईआरडीएआई)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । त्यसको बीमांक अर्थात् दायित्व भने ४७३ खर्ब ९९ अर्ब ३४ करोड भारु रहेको छ ।

भारतमा अप्रील १ तारिखदेखि मार्च मसान्तसम्मलाई आर्थिक बर्षको रुपमा ल्याइन्छ । २०२२ अप्रील १ देखि डिसेम्बर मसान्तसम्म भारतीय जीवन बीमा बजारले सो बराबरको प्रथम बीमाशुल्क संकलन गरेको हो, जुन गत आवको सोही अवधीको तुलनामा भने ३१.१६ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा भारतीय जीवन बीमा बजारले २० खर्ब ५२ अर्ब ३१ करोड भारु प्रथम बीमा शुल्क संकलन भएको थियो ।

भारतमा २४ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उक्त कम्पनीहरुले डिसेम्बरमा मात्रै २ खर्ब ६८ अर्ब ३८ करोड भारु प्रथम बीमाशुल्क संकलन गरेका छन् । २०२१ को डिसेम्बरमा भने उक्त कम्पनीहरुले २ खर्ब ४४ अर्ब ६६ करोड भारु प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

समिक्षा अवधीमा भारतमा १ करोड ८३ लाख ९० हजार ५२ ओटा नयाँ बीमा पोलिसी जारी भएको छ, जुन गत आवको सोही अवधीको तुलनामा ४.२९ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा भारतीय बीमा बजारमा १ करोड ७६ लाख ३३ लाख ओटा नयाँ बीमा पोलिसी जारी भएको थियो ।

२०२२ को डिसेम्बरमा मात्रै २७ लाख ५४ हजार ओटा नयाँ पोलिसी जारी गरिएको आईआरडीएआईको तथ्यांकमा उल्लेख छ ।
आईआरडीएआईले सार्वजनिक गरेका तथ्यांकमा कुल बीमाशुल्क संकलन गरिएको छैन । अघिल्लो आव ०२१÷२२ मा भने भारतमा ३१ खर्ब ४८ अर्ब भारु प्रथम बीमाशुल्क र ६९ खर्ब २६ अर्ब भारु कुल बीमाशुल्क संकलन भएको थियो ।