बीमा प्राधिकरणको निर्माणाधीन नयाँ भवनको भौतिक प्रगति ४५ प्रतिशत, तेस्रो तला ढलान हुँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको भवन निर्माण कार्य जारी छ । प्राधिकरणले ललितपुरको कुपण्डोलामा रहेको आफ्नो १० रोपनी क्षेत्रफलमा ५ हजार स्क्वायरफिटको अत्याधुनिक भवन निर्माण गर्न लागेको हो ।
हाल निर्माणधिन भवनको भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ । प्राधिकरणका अनुसार अत्याधुनिक सुविधासहितको निर्माणाधिन भवनको वित्तीय प्रगति पनि सोही हाराहारीमा भएको बताइएको छ ।
प्राधिकरणका एक अधिकारीले भने,–‘भवन निर्माण कार्य चलिरहेको छ । हाल ४५ प्रतिशत भौतिक प्रगति भएको छ, वित्तीय प्रगतिमा पनि सोही हाराहारीमा भएको छ ।’ भवन निर्माणका लागि गत वर्ष मंसिर २७ गते सिलन्यास भएको थियो । सो भवनको निर्माण लागत ४७ करोड ३७ लाख रुपैयाँ रहेको छ । ‘भवनको निर्माण शुरु गत वर्षको मंंसिरदेखि भएको हो । हाल दुई तला ढलान सकिएर तेस्रो ढलान गर्ने क्रम जारी छ ।’– प्राधिकरणले भन्यो ।
प्राधिकरणले बीमा नियमन प्रशासनिक भवन निर्माण गर्न लागेको हो ।सो भवन निर्माणको ठेक्का अवधिमा ३० महिना रहेको छ । भवन सात तलाको हुनेछ भने भूकम्प प्रतिरोधी हुनका साथै अपाङ्गमैत्री पनि बन्न लागेको हो । भवनको निर्माण कार्यको जिम्मा भने आशिष माउण्ट पुमोरी जेभीलाई पाएको छ ।
प्राधिकरणले १२० जनासम्म सहभागी हुनसक्ने अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, ४० जना क्षमताको छुट्टै बैठक कक्ष, बोर्ड कक्षसहित भवन निर्माण गर्न लागेको हो । यसमा करिव ८० वटा सवारी साधन पार्किङ्ग गर्न मिल्ने अण्डरग्राउण्ड पार्किङ्ग र ११२ जनासम्म क्षमताको चमेनागृह लगायतका सुविधाहरू उपलब्ध हुनेछन् ।













