तीन कम्पनीको आइपीओ भर्नु भयो त ? यसरी दिनुहोस् आवेदन !
काठमाडौ । तीन कम्पनीहरुले अहिले आइपीओ बिक्री खुला गरेका छन् । एक कम्पनीले सर्वसाधारण र दुई कम्पनीहरुले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ जारी गरेको छन् ।
कालिञ्चोक दर्शन
कालिञ्चोक दर्शन कम्पनीको माघ ३ गते देखि सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आजदेखि निष्काशन भएको हो ।
सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी
मोलुङ्ग हाइड्रोपावर कम्पनीले पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता जारी गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा छुट्याएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त आइपीओमा माघ १० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुत्तिःनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेको नेपालीहरुले आवेदन दिन सक्नेछन्।
सानिमा मिडिल तमोर हाइड्रोपावर
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गते देखि पहिलो चरणमा आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा विक्री गरीनेछ ।
स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं। १ तथा भिक्वाखोला गाउँपालिका वडा नं। १ र २, मेरिङदेन गाउँपालिका वडा नं। २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं। ५ तथा मैवाखोला गाउँपालिका वडा नं। १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो ।
उक्त आइपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।
विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् । यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।













