बीमा प्राधिकरणको दबाब आइएमईले नमानेपछि प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सबीच अघि बढ्यो मर्जर प्रक्रिया
बीमा प्राधिकरणको दबाब आइएमईले नमानेपछि प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सबीच अघि बढ्यो मर्जर प्रक्रिया
काठमाडौं । नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारीमा जुटेका छन् । मर्जरमा जानका लागि यी दुवै कम्पनीबीच छलफल अघि बढाएका हुन् ।
बीमा प्राधिकरणले क्रस होल्डिङमा रहेका आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सविच मर्जर गर्न दिएको दबाब आइएमईले नमानेको बताइएको छ । आइएमईमा चन्द्र ढकालको मुख्य लगानी रहेको छ । नेपाल इन्स्योरेन्समा पनि ढकाल समुहको लगानी रहेकोले बीमा प्रधिकरणले यी तिनै कम्पनी मर्ज गर्न दबाब दिएको थियो ।
बमिा प्राधिकरणले ३ ओटै कम्पनीका लगानीकर्ता र सीईओलाई अफिसमै बोलाएर मर्जर गर्न दिएको निर्देशनलई आइएमईले इन्कार गरेको हो । आइएमईले आफुहरु अन्य कम्पनीसंग मर्जरमा नजाने बताएपछि नेपाल इन्स्योरेन्स र प्रुडेन्सियलले मात्रै मर्जरको लागी एमओयूको तयारी गरेका छन् । नेपाल इन्स्योरेन्समा बिशाल ग्रुपको करिव १२ प्रतिशत लगानी रहेको छ भने प्रुडेन्सियल उसकै मुख्य लगानीको कम्पनी हो ।
पछिल्लो समय यी दुबै कम्पनीको वित्तिय अवस्था नाजुक बन्दै गएपछि बीमा प्रधाधिकरणले मर्जर गर्न दबाब दिएको हो ।
यी दुवै कम्पनी एउटै व्यवसायिक घरानाका रहेका छन् । विशाल ग्रुपको ठुलो लगानी रहेको यी दुवै कम्पनीलाई एक आपसमा गाभ्ने गरि छलफल तथा प्रक्रिया अघि बढाएको स्रोतले बतायो ।
कम्पनीहरुलाई मर्जरमा जानका लागि नियामक निकाय बीमा प्राधिकरणको पनि दबाब थिए । यसअघि पनि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जरको प्रक्रिया अघि बढेको थियो । यी तीनै वटा कम्पनी मर्जरमा जानका लागि नियामक नेपाल बीमा प्राधिकरणसंग संयुक्त बैठकसमेत बसेको थियो । तर, आइएमई जनरल इन्स्योरन्स मर्जरमा जान नमानेपछि नेपाल इन्स्योरेन्स र प्रुडेन्सियलले प्रक्रिया अघि बढाएका छन् ।
हामी मर्जर प्रक्रियाका लागि छलफल अघि बढाईरहेका छौं,–‘मर्जपछि बन्ने कम्पनीको नाम, संचालक तथा व्यवस्थापकीय टिम लगायतको बारेमा सहमति हुँदैछ । स्वाप रेसियोको पनि कुरा भईरहेको छ । हामी छलफलकै चरणमा छौं ।’ प्रारम्भिक छलफलमै रहेकाले अहिले स्वाप रेसियो सांगठनिक संरचना लगायतको विषयमा टुंगो पछि नै लाग्ने बताइएको छ ।
हाल प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ रहेको छ । नेपाल इन्स्योरेन्सको १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जपछि बन्ने कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड बढी पुग्नेछ ।
चालु आवको असोज मसान्तसम्ममा प्रुडेन्सियले इन्स्योरेन्सले ३ करोड ६६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३४ करोड ७२ लाख ९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २७ करोड ६३ लाख ३० हजार र बीमा कोषमा ६९ करोड ७२ लाख ३७ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्सको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीले कुल ४३ करोड ७६ लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जगेडा तथा कोषमा ४३ करोड ७७ लाख ३७ हजार र बीमा कोषमा ७८ करोड ७७ लाख ३७ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ८७ पैसा रहेको छ ।













