२४ श्रावण २०८३, आइतबार

‘राजस्व संकलन चिन्ताजनक छ, समाधानका लागि आवश्यक तयारी भईरहेको छ’ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाली अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल समन्वय भईरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रियामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । सबै अवस्था सामान्य हुँदा पनि अर्थतन्त्र समस्यामा परिरहेकाले समाधानका लागि निजी क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनले बताए ।

उनले भने,–‘नेपाली अर्थतन्त्र समस्या समाधान आफ्नो पहिलो प्राथमिकता छ । समाधानका लागि सरकार निजी क्षेत्रको छलफल तथा समन्वय गरि अघि बढेको छ । निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि यस क्षेत्रको सबै समस्या समाधान गर्ने गरि अघि बढ्न आवश्यक छ ।’

अर्थमन्त्री पौडेलले राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताए । उनले भने,–‘राजस्व संकलन पनि चिन्ताजनक अवस्थमा छ, यसको समस्या समाधानका लागि तयारी गरिरहेको रहेका छौं । पुँजीगत खर्च पनि बढेको छैन, निर्माण सामग्रीको अभाव लगायतका समस्या छन् । यसको समाधान तर्फ सरकार केन्द्रित गरहेको छ ।’ उनले अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू लागेको जानकारी गराए ।