सुपर मादी हाइड्रोपावरको आइपीओ पाउन भाग्य कैं भर, ८ गुणा बढीको आवेदन
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओमा १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम (माघ १२ गते) सम्ममा १३ लाख ५७ हजार ७४५ जनाले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ८।९२ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको हो ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।













