१० श्रावण २०८३, आइतबार

नेपालका कति बालबच्चा बीमाको दायरामा छन् ?

नेपालका कति बालबच्चा बीमाको दायरामा छन् ?



काठमाडौं । नेपालका ९ लाख भन्दा बढी बाल बच्चा जीवन बीमाको दायरामा आएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार हालसम्म ९ लाख ८ हजार १७० वटा बालबच्चा सम्बन्धी जीवन बीमालेख सक्रिय छन् । सोही आधारमा ९ लाख ८ हजार १७० जनै बालबच्चाले बीमा गरेको अनुमान गरिएको हो ।

यद्यपि, कतिपयले दोहोरो रुपमा बाल बच्चाको जीवन बीमा पनि गरेका हुन्छन्, त्यो अवस्थामा बीमाको दायरामा आएका बालबच्चाको संख्या केही कम हुन सक्ने बताइएको छ । यद्यपि, यस सम्बन्धमा नेपाल बीमा प्राधिकरणले यकिन अध्ययन भने गरेको छैन ।

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार छ । त्यसमा कति बालबच्चा छन् भनेर यकिन तथ्यांक सार्वजनिक गरिएको छैन । तर, बिभिन्न अध्ययनअनुसार नेपालको जनसंख्यामा बालबच्चाको हिस्सा २९ प्रतिशत रहेको देखाएको छ । त्योअनुसार नेपालमा बालबच्चाको संख्या ८४ लाख हारहारी रहेको देखिन्छ । त्यसको आधारमा भने करिब ११ प्रतिशत बालबच्चा मात्रै बीमाको पहुँचमा आएको तथ्याङ्कले देखाउँछ ।

यता, समग्र बीमाको पहुँच भने करिब ४४ प्रतिशत पुगेको छ । त्यसको अनुपातमा बालबच्चा भने बीमाको दायरामा निकै पछाडी देखिएको तथ्यांकले पुष्टी गरेको छ । तथ्यांकअनुसार कुल पुस मसान्तसम्म १ करोड ४१ लाख ९ हजार वटा जीवन बीमालेख सक्रिय छन् ।

यस्तै, बालबच्चाको बीमा मार्फत चालु आवको पुस मसान्तसम्म १० अर्ब ३३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । पुस मसान्तसम्म कुल ७१ अर्ब ६५ करोड २० लाख जीवन बीमाशुल्क संकलन भएको छ । त्यसमा बालबच्चाको बीमा मार्फत सो बराबरको बीमाशुल्क संकलन भएको हो ।

बागमती प्रदेशबाट सबैभन्दा धेरै, कर्णालीमा कम

चालु आवको ६ महिनामा बालबच्चा जीवन मार्फत सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशबाट उठेको छ । सो प्रदेशबाट कुल ३ अर्ब ६९ करोड ४६ लाख ९० हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो । बागमतीमा बालबच्च सम्बन्धी कुल २ लाख ३४ हजार २४२ बीमालेख सक्रिय देखिएको छ ।

दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने कुल १ अर्ब ८३ करोड ६९ लाख ६६ हजार रुपैयाँ प्रिमियम संकलन भएको छ । सो प्रदेशमा कुल १ लाख ७१ हजार ६५३ वटा बीमालेख बिक्री भएको प्राधिकरणको तत्थाङ्क छ ।

चालु आवको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार बालबच्चा जीवन बीमाबाट सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । सो प्रदेशबाट पुस मसान्तसम्म ६१ करोड ११ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । कर्णालीमा बालबच्चा सम्वन्धी ७० हजार २३१ वटा बीमा बिक्री भएको छ ।

यस्तै, प्रदेश नम्बर १ बाट १ अर्ब ३७ करोड ३७ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा बालबच्च सम्वन्धी पुस मसान्तसम्ममा १ लाख ४४ हजार ५८६ वट बीमालेख सक्रिय देखिएको छ ।

त्यसैगरि गण्डकी प्रदेशबाट भने बालबच्चा जीवन बीमा मार्फत १ अर्ब ११ करोड ६६ लाख ८३ हजार रुपैयाँ प्रिमियम उठेको छ । सो अवधिमा गण्डकीमा बालबच्चा बीमा अन्तर्गत ९० हजार ७ सय वटा बीमालेख बिक्री भएको छ ।

यता, सुदुरपश्चिम प्रदेशमा भने बालबच्चा बीमा १ लाख १५ हजार १९५ बीमालेख सक्रिय देखिएको छ । सो बीमा अन्तर्गत चालु आवको पुस मसान्तसम्ममा सुदुरपश्चिमबाट ८७ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।