अनुदान बढाएपछि थप बढ्दैछ कृषि बीमा व्यवसाय: ६ महिनामै ४१७ प्रतिशतले वृद्धि, कर्णालीमा पनि सुधार
अनुदान बढाएपछि थप बढ्दैछ कृषि बीमा व्यवसाय: ६ महिनामै ४१७ प्रतिशतले वृद्धि, कर्णालीमा पनि सुधार
काठमाडौं । सरकारले बीमाशुल्कमा दिने अनुदान बढाएपछि कृषि तथा बाली बीमामा किसानहरुको आर्कषण पनि थप बढ्न थालेको छ ।
फलस्वरुप पछिल्लो समय यसको व्यवसाय समेत बढ्दै गएको नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको हो । नेपालमा आर्थिक बर्ष २०७०/७१ देखि कृषि तथा बाली बीमाको व्यवसायको सुरुवात भएको थियो । त्यसबेलादेखि नै सरकारले कृषि बीमामा ५० प्रतिशत अनुदान दिएको थियो । साथै, व्यवसाय पनि उत्साहजनक रुपमा बढ्दै गएको थियो ।
पछिल्लो पटक सरकारले गत आव २०७८/८९ को असोज ७ गतेदेखि बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिन थालेको छ । साथै, सुदुरपश्चिम लगायतका प्रदेश तथा बिभिन्न स्थानीय तहहरुले नदोहोरिने गरि २० प्रतिशतसम्म अनुदान दिदैं आएका छन् ।
फलस्वरुप कतिपय किसानले निःशुल्क रुपमा समेत यस्तो बीमा गर्ने अवसर पाएको छन् । त्यसपछि यस्तो बीमा प्रति आर्कषण र व्यवसाय थप बढ्दै गएको जानकारहरु बताउछन् ।
अनुदान सहित बीमा सचेतना कार्यक्रमहरु गर्दा पनि यसतर्फ किसानहरुको थप आकर्षित हुँदै गएका छन् । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय स्थानीय तहमै गएर बीमा सम्बन्धी सचतेना कार्यक्रम गर्दै आएको छ, त्यसको प्रभावले पनि कृषि सहित समग्र बीमा व्यवसाय बढ्दै गएको बीमा प्राधिकरणका अधिकारीहरु बताउछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा आर्थिक बर्ष २०७०/७१ देखि कृषि बिमाको सुरुवात गरिएको थियो । न्यून वर्गीय कृषकले पनि बीमाको सुविधा प्राप्त गर्न सकुन भन्दै अनुदानको व्यवस्था गरेको र पछिल्लो समय यसतर्फ आकर्षण बढ्न थालेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसअघि कृषि तथा बाली बीमा गर्ने कम्पनीहरु बढी व्यवसायिक हुँदा लक्षित वर्गसम्म यसको सुविधा पुग्ने नसेको गुनासाहरु आई रहेको थियो । तर, पछिल्लो समय किसानहरूलाई बीमा प्रति जानकारी भएर नै कृषि तथा बाली बीमा गर्नेहरुको संख्यामा बढोत्तरी देखिएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणका एक अधिकारीले भने,–‘किसानहरूमा बीमाप्रतिको जानकारी, चासो र चेतनाको वृद्धि भएको छ । सरकारले अनुदानको व्यवस्था गरेपछि किसानहरू बीमा आकर्षित भएका हुन् ।’ तर, कृषि बीमामा आकर्षण बढीरहेता पनि बीमा बापतको दावी भुक्तानी र अनुदान रकम समयमा नपाउने कृषकहरुले गुनासो समेत आउने गरको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कले पनि कृषि तथा बाली व्यवसाय उल्लेख्य मात्रामा बढेको देखाएको छ ।
४१७ प्रतिशतले बढ्यो बीमा शुल्क, १ अर्ब बढी प्रिमियम
कृषि तथा पशुपन्छी, बाली बीमाको दायरामा विस्तार भएसँगै बीमा कम्पनीहरुले सङ्कलन गरेको बीमाशुल्कमा समेत उल्लेख्य वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कृषि तथा बाली बीमाबाट कम्पनीहरुले १ अर्ब ९ करोड २७ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो चालु आवको पहिलो महिना तथा साउनको तुलनामा भने ४१७.५५ प्रतिशतले बढी हो ।
गत साउनमा कृषि तथा बाली बीमा गर्ने निर्जीवन बीमा कम्पनीहरुले २१ करोड ११ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । चालु आव ६ महिनामा कृषि तथा बाली बीमा गर्ने निर्जीवन बीमा कम्पनीहरुले कुल ८२ लाख ७४६ बीमालेख बिक्री गरेका छन् ।
चालु आवको भदौ महिनासम्म भने कृषि तथा बाली बीमा मार्फत कम्पनीहरुले ३९ करोड ७६ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए । सो महिनामा ३३ हजार १७४ वटा बीमालेख जारी भएको थियो ।
प्राधिकरणका अनुसार असोज महिनामा ५५ करोड ४८ लाख ८ हजार रुपैयाँ, कात्तिकमा ६९ करोड ९८ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क उठाएका थिए । कम्पनीहरुले असोज र कात्तिकमा क्रमशः ४४ हजार ५९५ र ५६ हजार ४३० कृषि तथा बाली बीमालेख बिक्री गरेका थिए ।
गत मंसिर महिनामा भने कृषि तथा बाली बीमाबाट कम्पनीहरुले ८५ करोड ६० लाख ५१ हजार रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
बागमतीबाट उठ्छ धेरै प्रिमियम, कर्णालीमा पनि देखियो बढोत्तरी
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कृषि तथा बाली बीमा गर्नेमा बागमती प्रदेश पहिलो स्थानमा छ ।
चालु आवको ६ महिनामा सो प्रदेशबाट कृषि तथा बाली बीमा मार्फत १४ करोड ४३ लाख ३१ हजार रुपैयाँ प्रिमियम संकलन भएको छ । सो प्रदेशमा कृषि तथा बाली बीमा गराउने कम्पनीहरुले पुस मसान्तसम्ममा २६ हजार ९१३ बीमालेख बिक्री गरेका छन् ।
पछिल्लो समय कर्णाली प्रदेशमा पनि कृषि तथा बाली बीमाप्रति कृषकहरुको आकर्षण बढी रहेको तथ्याङ्कले देखाउँछ । प्राधिकरणका अनुसार गत मंसिर महिनाका तुलनामा कर्णालीमा कृषि तथा बाली बीमा शुल्क २८.९६ प्रतिशतले बढेर १ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
गत मंसिर मसान्त्सम्ममा भने कम्पनीहरुले सो बीमा मार्फत १ करोड ९४ लाख ५२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका थिए । सो प्रदेशमा पुस मसान्तसम्ममा कृषि तथा बाली बीमाको २ हजार ९२९ बीमालेख बिक्री गरेका छन् ।
चालु आवको दोस्रो त्रैमासमा लुम्बिनी प्रदेशबाट भने १७ करोड ५८ लाख ९२ हजार रुपैयाँ कृषि तथा बाली बीमा प्रिमियम संकलन भएको छ । सो प्रदेशमा कृषि तथा बाली बीमाको १६ हजार ४५४ बीमालेख बिक्री गरेका छन् ।
यस्तै, सो बीमा अन्तर्गत गण्डकी प्रदेशबाट १५ करोड ३ लाख ९६ हजार रुपैयाँ, प्रदेश नम्बर १ बाट १४ करोड ४१ लाख ६० हजार रुपैयाँ र मधेश प्रदेशबाट ११ करोड ३५ लाख १० हजार रुपैयाँ बीमा शुल्क उठेको छ । यी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमा अन्तर्गतका क्रमशः ९ हजार ७९९, ११ हजार ७४२ र ६ हजार १३ बीमालेख बिक्री गरेका छन् ।
त्यसैगरि चालु आवको ६ महिनमा सुदुरपश्चिममा कृषि तथा बीमाबाट कुल ३ करोड ९३ लाख ६७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा कम्पनीहरुले ३ हजार ६० बीमालेख बिक्री गरेका छन् ।













