किन बढ्यो बुटवल पावरको नाफा ? यस्तो छ वित्तीय अवस्था
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आवको ६ महिनामा कम्पनीले २२ करोड ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २६.०४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानी भन्दा पनि वित्तीय आम्दानी वृद्धि बढेकाले खुद नाफा बढ्नमा टेवा पुगेको हो । चालु आवको ६ महिनामा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशतले वृद्धि भई ५ करोड ७३ लाख १० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी ४ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको ६ महिनामा कम्पनीले ४३ करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको यो आम्दानी २ प्रतिशतले मात्र बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
सो अवधिमा कम्पनीको संचालन नाफा भने १९. प्रतिशतले बढाएर २३ करोड ६ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । अन्य आम्दानीमा भने ६ करोड १ लाख ८६ हजार रुपैयाँ उल्लेख गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ २४ पैसाले बढेर १३ रुपैयाँ ४२ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २०४ रुपैयाँ ६४ पैसा पुगेको छ ।













