७ श्रावण २०८३, बिहिबार

सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने म्याद पुनः थप



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले तोकिएको अवधि भित्र माग बमोजिमको आवेदन नपरेपछि आइपीओमा आवेदन दिने समय फागुन ५ गतेसम्म लम्बाएको हो ।

यस अघि कम्पनीले उक्त आइपीओमा माघ २६ गतेसम्म आवेदन दिन भनेको थियो । कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर भने विदेशमा रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरेकोहो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम स्थानीयले १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने म्याद भने समाप्त भइ सकेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सि–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्