बढ्यो चन्द्रागिरी हिल्सको नाफा: जगेडा कोष भने ऋणात्मक, अन्य सूचक कस्ता ?
काठमाडौं । चन्द्रागिरी हिल्सले सवा ५ करोड खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार चालु चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड १४ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी ६८ लाख ६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
सो अवधिमा आन्तरिक पर्यटकहरुको आवागमन वृद्धि भई कम्पनीको व्यवासय बढेको हो । सो अवधिमा कम्पनीको संचालन आम्दानी पनि ४१.१३ प्रतिशतले वृद्धि भई ४० करोड ८२ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म कम्पनीको यो आम्दानी २८ करोड ९२ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीको कुल आम्दानी पनि ५१.०१ प्रतिशतले वृद्धि भई ३५ करोड ७८ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको जगेडा तथा कोष भने ३४ करोड २९ लाख ४९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा ३८ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने ३ रुपैयाँ ३६ पैसा धनात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।













