७ श्रावण २०८३, बिहिबार

भूगोल इनर्जि डेभलपमेन्टले फागुन ८ गतेदेखि आइपीओ निष्कासन गर्ने, कति कित्ता आवेदन पाउँछ ?



काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

जस मध्य अति प्रभावित क्षेत्र नौमुले द्वारी – ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने छ ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा फागुन २५ गते र ढिलोमा चैत ७ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने बैंक तथा वित्तीय संस्थाहरुको सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्