१० श्रावण २०८३, आइतबार

बीमालेख धितो कर्जा लगानीबाट नेपाल लाइफ र एलआईसीले गरे धेरै आम्दानी, अन्य कुनको कति ?

बीमालेख धितो कर्जा लगानीबाट नेपाल लाइफ र एलआईसीले गरे धेरै आम्दानी, अन्य कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा कर्जा लगानीबाट करिब ४ अर्ब रुपैयाँ आम्दानी गरेका छन् ।

संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा कम्पनीहरुले ६ महिनामा बीमालेख धितो मार्फत ७८ २१ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । सो कर्जा लगानी मार्फत ३ अर्ब ९१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

चालु आवको पुस मसान्तसम्मको विवरण अनुसार बीमालेख धितो कर्जा लगानीबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै आम्दानी गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । सो कम्पनीले बीमालेख धितो मार्फत २७ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बीमालेख धितो कर्जा मार्फत लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले १ अर्ब २१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा कम्पनीका बीमितहरुले बीमालेख धितो राखी २० अर्ब ८० करोड ८६ लाख रुपैयाँ ऋण लिएका छन् ।

बीमालेख धितो कर्जा मार्फत बढी आम्दानी गर्नेको तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ३७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरको छ । सो अवधिमा कम्पनीले बीमालेख धितो राखी ९ अर्ब करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको ६ महिनामा बीमालेख धितो कर्जा लगानीबाट सबैभन्दा कम आम्दानी रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । सो अवधिमा कम्पनीले २१ करोड ५० लाख रुपैयाँ बीमालेख धितो कर्जा लगानी गरि २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्ममा एशियन लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जा लगानीबाट १४ करोड ३२ लाख, सूर्यज्योति लाइफले १२ करोड ३७ लाख, प्राइम लाइफले १० करोड १२ लाख, राष्ट्रिय बीमा संस्थानले ७ करोड २२ लाख, गुराँस लाइफले ६ करोड ५७ लाख र युनियन लाइफले ५ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेका छन् । सो अवधिमा यी कम्पनीहरुले क्रमशः ४ अर्ब ५२ करोड १६ लाख, ३ अर्ब २९ करोड ९० लाख, २ अर्ब ४८ करोड २४ लाख, २ अर्ब ५५ करोड ३० लाख १ अर्ब ३२ करोड ३४ लाख र १ अर्ब २४ करोड १० लाख रुपैयाँ बिमालेख धितो कर्जा लगानी गरेका छन् ।

त्यसैगरि चालु आवको ६ महिनामा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जा लगानी मार्फत २ करोड ९८ लाख रुपैयाँ, सिटिजन लाइफले २ करोड २८ लाख, आइएमई लाइफले २ करोड ११ लाख, महालक्ष्मीले १ करोड १६ लाख, प्रभुले १ करोड ६ लाख, सन नेपालले ९२ लाख, सानिमाले ३६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।