मोलुङ्ग हाइड्रोपावरको आईपीओमा ५.१५ गुणा बढी आवेदन
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आईपीओमा माग भन्दा ५.१५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस अनुसार सोमवार बिहानसम्म १० लाख ३६ हजार ३८८ जना आवेदकले १ करोड १६ लाख ७५ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले सार्वजनिक निष्कासन मार्फत फागुन ४ गते बाट २२ लाख ६४ हजार ६५५ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुन आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । त्यसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट भइसकेको छ। २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याएर बाँकी सेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ छिटो अवधि फागुन १० गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी (आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।













