२० श्रावण २०८३, बुधबार

बढ्दै विद्युतीय सवारीको हिस्सा, थप २६० वटा इलेक्ट्रिक गाडी नेपाल भित्रियो



काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दोक्रममै छ । पछिल्लो एक महिनामै थप २६० वटा विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।विभागका अनुसार चालु आवको सात महिनामा २ हजार ९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

७ महिनामा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । जुन, गत पुस महिनाका तुलनामा १४.८६ प्रतिशतले बढी हो । गत पुस मसान्तसम्ममा भने विभिन्न तौल क्षमताका १ हजार ७४९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो । गत पुस मसान्तसम्ममा भने ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो ।

चालु आवको माघ महिनासम्ममा विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ राजश्व पाएको छ।
विस्तारै नेपालीहरु अटो बजार विद्युतीय सवारीमय बन्दै गएको पाइन्छ । नेपालमा विद्युतीय सवारीको हिस्सा पनि बढ्ने क्रममै छ ।

सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित रहेको छ । जसका लागि नेपाल विद्युत् प्राधिकरणले हाल ५० वटा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । निजी क्षेत्रका विद्युतीय सवारी साधन बिक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । नेपालमा विद्युतीय सवारीको हिस्सा पनि बढ्ने क्रममै छ । यद्यपि, हाल १५ प्रतिशत रहेको छ ।

नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

नेपालमा सबैभन्दा धेरै भारतीय र चीनबाट विद्युतीय गाडी आयात हुने गरेको छ । चालु आवको ७ महिनामा सबैभन्दा धेरै विद्युतीय सवारी भारतबाट आयात भएको छ । भारतबाट ३ अर्ब ८९ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४३५ वटा विद्युतीय सवारी आयात भएको हो । सो देशबाट १०० किलोवाट तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान आएको भएको हो ।

सो अवधिमा कोरियाबाट ९५ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २४६ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, चालु आवको माघ मसान्तसम्ममा चिनबाट भने ७५ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको ३२१ वटा इलेक्ट्रिक गाडी नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, चालु आवको ७ महिनामा अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार र इन्डोनेसियाबाट ६४ लाख हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यी दुई देशबाट क्रमशः ४ वटा र ३ वटा गाडी आयात भएका हुन् ।

विभागका अनुसार मंसिर महिनामा ३ अर्ब ८२ करोड ५७ लाख रुपैयाँ बराबरको १ हजार ३५३ वटा, कात्तिकमा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ बराबरको १ हजार १८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।

यस्तै, असोज महिनामा २ अर्ब ५० लाख, भदौमा १ अर्ब १९ करोड ४३ लाख र चालु आवको पहिलो महिना अर्थात साउनमा ६२ करोड १६ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो । गत साउनामा २११ वटा, भदौ ४१४ र असोजसम्म ७०५ वटा सवारी आयात भएको विभागले जनाएको छ ।