१० श्रावण २०८३, आइतबार

पुँजी वृद्धिको योजनामा बीमा संस्थान, लेखा परीक्षण छिट्टै सक्ने

पुँजी वृद्धिको योजनामा बीमा संस्थान, लेखा परीक्षण छिट्टै सक्ने



काठमाडौं । आजदेखि राष्ट्रिय बीमा संस्थान ५६औं वर्षमा प्रवेश गरेको छ । २०२५ फागुन ११ गते संस्थानको रुपमा परिणत भएको थियो ।संस्थानले नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमा बोध गराउदै आएको छ ।

नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाको माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोत परिचालन गरी अर्थतन्त्रको सुदृढीकरणको सशक्त भुमिका निर्वाह गर्दै आएको संस्थानले जनाएको छ । आगामी दिनमा संस्थानले उपलब्ध गराउने सेवाहरु अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउदै जाने प्रतिवद्धता जनाएको छ ।

पुँजी वृद्धिको योजनामा संस्थान, लेखा परीक्षण छिट्टै सक्ने प्रतिवद्धता

संस्थानका प्रशासक कवि प्रसाद पाठकले पुँजी बढाउनका लागि योजना बनाएको जानकारी दिए । उनले संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्घि गर्ने, तोकिएको समयावधि भित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भावी कार्य योजना रहेको जानकारी गराए ।

उनले नेपाल बीमा प्राधिकरणले दिएको निर्देशन बमोजिम नै चुक्ता पुँजी वृद्धिका लागि संस्थापकहरुलाई पत्रचार गरेको बताए । उनका अनुसार ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व कायम हुनेगरि पुँजी वृद्धि गर्ने संस्थानको योजना छ । उनले संस्थानको चालु आवको अन्त्यसम्ममा लेखा परिक्षण छिट्टै नै सक्ने प्रतिवद्धता जनाए । उनले भने,–‘चालु आवको अन्त्यसम्म बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखा परिक्षण र बीमांकीय मुल्यांकन सम्पन्न भइसकेको आर्थिक वर्षको साधारण सभा समेत सम्पन्न गर्ने र बाँकी अवधिको लेखा परिक्षण र बीमांकीय मूल्यांकनको कार्य समेत छिटै सम्पन्न गर्ने तयारीमा छौं ।’

यता, संस्थानका अध्यक्ष इश्वर पौडेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको दावी गरे । उनले बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको बताएका थिए । मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै संस्थानले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको उनको भनाई थियो ।

लेखा परीक्षण नभएकोमा सरकारको चासो, व्यवस्थापन पक्षको तत्परता आवश्यक

वाषिकोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरले संस्थानको संस्थानको लेखा परिक्षण हुन नसकेकोमा सरकारले चासो राखेको बताए ।

समयमा लेखा परिक्षण सकाउन सम्बन्धित सबै निकायको समन्वय आवश्यक हुने बताए । उनले भने,–‘पछिल्लो समयमा सरकारी संस्थानप्रति आम मानिसमा विश्वास घटेको पाइन्छ । तर, बीमा संस्थान त्यो भ्रम तोड्ने गरि प्रविधिमैत्री व्यवसायिक गतिविधि बढाउन आवश्यक छ ।’

सोही अवसरमा सचिव घिमिरेले बीमा संस्थानको लेखा परीक्षण समयमै सक्नका लागि व्यवस्थापनले तत्परता दिनुपर्ने बताए । लामो समयदेखि रोकिएको संस्थानको लेखापरीक्षण समयै सकाउनका लागि व्यवस्थापन र कर्मचारी सबैको सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

उनले भने,–‘हामीले अडिट सक्नका लागि दिईको समय निर्धारण भन्नका लागि होइन, व्यववस्थापन, कर्मचारी र सबै सम्वन्धित निकायको सहयोग, समन्वयबाट आवश्यक छ ।’ संस्थान लामो धरोहर बोकेको संस्था भएको भन्दै घिमिरेले भने–‘यो स्थापनाको कालमा संस्थान एक्लै थियो, सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । अब प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिष्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्छ र राख्नुपर्छ ।’

अहिले समग्र बीमा क्षेत्रमा विभिन्न नयाँ–नयाँ प्रवृतिहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भने,–‘नयाँ नयाँ जोखिमका प्रकारहरु आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौं भने हामी अगाडि बढ्न सक्दैनौं ।’ उनले थपे,–‘सार्वजनिक संस्थान भनेर हिनताबोध र लघुताभाषबाट अगाडि बढ्न सकिँदैन, नयाँ जोश जाँगर चाहिन्छ ।’

उत्कृष्ट कर्मचारी, शाखा र अभिकर्तालाई सम्मान

५६औं वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ ।

संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मन कुमार रेग्मी (निरौला), राजन रिमाल, शान्ति महर्जन, नारायण प्रसाद गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीसमेत गरि १० जना अभिकर्तालाई समान गरेको हो ।

संस्थानले देशभरमा रहेका शाखा कार्यालयहरु मध्य उत्कृष्ट काम कारबाहि गर्दै आएका ४ वटा शाखा कार्यालयलाई सम्मान गरेको छ ।सम्मानित हुने शाखाहरुमा काठमाडौं उपत्यका भित्रबाट लगनखेलमा रहेको शाखा कार्यालयका साथै उपत्यका बाहिरबाट नारायणगढ, पोखरा र बुटवल शाखा रहेका छन् ।

साथै संस्थानले ६ जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ । संस्थानले सहायक व्यवस्थापक राजकुमार भडेल, कामु सहायक व्यवस्थापक राम प्रसाद मिश्र, सहायक ‘ख’ अस्वीन पौडेल, सहायक ‘ख’ रञ्जना राई, सहयोगी कर्मचारी मध्येमा सवारी चालक मनिष श्रेष्ठ र कार्यालय सहयोगी चित्रकला न्यौपानेलाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

साढे ५ लाख बीमालेख जारी, ६ अर्ब बढी बीमा शुल्क आर्जन

संस्थाले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा ५ लाख ६० हजार रुपैयाँ कुल बीमालेख जारी गरेको छ । संस्थानले सो अवधिमा ६ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जनाएको छ ।

सो अवधिमा संस्थाले १ अर्ब ५८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । सात अर्ब १८ करोड रुपैयाँ बचत रहेको संस्थानको बीमा कोषमा ५४ अर्ब ९१ करोड रुपैयाँ संञ्चित रहेको छ ।