निर्जीवन बीमा कम्पनीको बिजनेशः शीर्षस्थानमा शिखर, आरबीसीएल, हिमालयन र सगरमाथाबीच प्रतिस्पर्धा
निर्जीवन बीमा कम्पनीको बिजनेशः शीर्षस्थानमा शिखर, आरबीसीएल, हिमालयन र सगरमाथाबीच प्रतिस्पर्धा
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा २३ अर्ब बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
सो अवधिमा संचालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । माघ महिनासम्ममा कम्पनीहरुले १६ लाख ३६ हजार २८४ वटा बीमालेख बिक्री गरेका छन् ।
शिखरले उठायो झण्डै तीन अर्ब प्रिमियम, दोस्रो स्थानमा नेको
चालु आवको ७ महिनामा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले गरेको छ । माघ महिनासम्ममा कम्पनीले २ अर्ब ९८ करोड ३ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
सो अवधिमा कम्पनीले १ लाख ४७ हजार ५१२ वटा बीमालेख जारी गरेको छ । कम्पनीले माघ महिनामा मात्रै ३२ करोड ७९ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो महिनामा कम्पनीले २२ हजार ६३७ बीमालेख बिक्री गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, आवको माघ महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेको दोस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ७५ करोड ६१ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधमिा कम्पनीले १ लाख ६५ हजार १४३ वटा बीमालेख बिक्री गरेको छ । माघ महिनामा मात्रै कम्पनीले २२ हजार ७६० बीमालेख बिक्री गरि २१ करोड २ लाख ८२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट र सगरमाथाबीच प्रतिस्पर्धा
चालु आवको ७ महिनामा राष्ट्रिय बीमा कम्पनी (आरबिसीएल) , हिमालयन एभरेष्ट र सगरमाथा इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ ।
सो अवधिमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ प्रिमियम उठाएको छ । कम्पनीले माघ महिनासम्ममा कुल ३३ हजार ५ वटा बीमालेख बिक्री गरेको छ । तर, कम्पनीले माघ महिनामा मात्र २९ करोड ५ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, सो अवधिमा हिमालयन एरभेष्ट इन्स्योरेन्स कम्पनीले भने १ लाख ४८ हजार ६७५ वटा बीमालेख बिक्री गरि कुल १ अर्ब ६९ करोड ८१ लाख १२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले माघ महिनामा मात्रै १८ करोड ९९ लाख ३२ हजार रुपैयाँ बराबरको बिजनेश गरेको छ । सो महिनामा कम्पनीले २१ हजार ७९२ वटा बीमालेख बिक्री गरेको प्राधिकरणले जनाएको छ ।
यता, सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि चालु आवको माघ मसान्तसम्ममा १ लाख ३० हजार ६३६ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले सो अवधिमा कुल १ अर्ब ६८ करोड ८८ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन संकलन गरेको छ । माघ महिनामा मात्रै कम्पनीले १९ करोड ७ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।
सात कम्पनीको बीमा शुल्क एक अर्बमाथि
चालु आवको माघ महिनासम्ममा सात वटा कम्पनीहरुको बीमा शुल्क डेढ अर्ब बढी रहेको छ । सो अवधिमा सिद्धार्थ इन्योरेन्स कम्पनीले १ अर्ब ५२ करोड २७ लाख, एनएलजीले १ अर्ब ४० करोड २८ लाख र सानिमा जिआईसीले १ अर्ब १९करोड ७३ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । यी कम्पनीहरुले क्रमशः १ लाख २२ हजार ११० वटा, १ लाख ११ हजार ९८७ र १ लाख ३ हजार ३३८ वटा बीमालेख जारी गरेका छन् ।
यस्तै, प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड ८७ लाख, लुम्बिनी जनरलले १ अर्ब १२ करोड ४ लाख, अजोडले १ अर्ब ८ करोड १३ लाख र आइएमई जनरलले १ अर्ब ५ करोड ५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
त्यसैगरि माघ महिनासम्ममा प्रभु इन्स्योरेन्सले ९२ करोड ५९ लाख, नेपाल इन्स्योरेन्सले ८८ करोड ९८ लाख, ओरिएन्टलले ८४ करोड ६ लाख, प्रुडेन्सियलले ७६ करोड४५ लाख, युनाईटेडले ६८ करोड ४० लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ५८ करोड २२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।













