बीमा कम्पनीले खुद नाफाको १% रकम सीएसआर कोषमा राख्नुपर्ने, राजनैतिक लाभको आधारमा खर्च गर्न नपाउने
बीमा कम्पनीले खुद नाफाको १% रकम सीएसआर कोषमा राख्नुपर्ने, राजनैतिक लाभको आधारमा खर्च गर्न नपाउने
काठमाडौं । अब बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोष खडा गरि जम्मा गर्नुपर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन सम्वन्धी निर्देशिकाको चौंथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । तर, सीएसआर कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने उल्लेख गरिएता पनि कम्पनीका संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुनेगरि खर्च गर्न पाइने छैन ।
प्राधिकरणका अनुसार कम्पनीहरुले सामाजिक परियोजनाहरुमा जस्तैः शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रम खर्च गर्नुपर्नेछ ।
यस्तै, संशोधित निर्देशिका अनुसार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तै–शिक्षा, स्वास्थ्यमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
तर, आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च सीएसआरबाट गर्न मिल्ने भएको छ । कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च भने सीएसआर कोषबाट व्यहोर्न नपाइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको नयाँ व्यवस्थाअनुसार सीएसआर कोषको रकम खर्च गर्दा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाइ लागू गर्नुपर्नेछ ।
कोषको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखा सम्वन्धी टिप्पणी अन्तर्गत खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।













