१० श्रावण २०८३, आइतबार

वैदेशिक रोजगारमा गएका कामदारको साढे १३ लाख बीमा पोलेसी सक्रिय, झण्डै २ अर्ब प्रिमियम उठ्यो

वैदेशिक रोजगारमा गएका कामदारको साढे १३ लाख बीमा पोलेसी सक्रिय, झण्डै २ अर्ब प्रिमियम उठ्यो



काठमाडौं । वैदेशिक रोजगारमा गएका कामदाहरुको साढे १३ लाख बीमालेख सक्रिय रहेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

प्राधिकरणका अनुसार माघ महिनासम्म वैदेशिक बीमा १३ लाख ६० हजार ३८८ बीमालेख सक्रिय रहेको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ । सोही अनुसार गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो ।

माघ महिनासम्ममा वैदेशिक बीमा मार्फत १ अर्ब ९६ करोड ८२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत पुस महिनाको तुलनामा भने १४.९७ प्रतिशतले बढी हो । गत पुस महिनामा भने १ अर्ब ७१ करोड १९ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । सो महिनामा वैदेशिक बीमामा १२ लाख ९४ हजार ४५९ बीमालेख सक्रिय थियो ।

माघ महिनामा मात्रै कम्पनीहरुले वैदेशिक बीमा मार्फत २५ करोड ६२ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनामा वैदेशिक बीमामा ५७ हजार ४१० बीमालेख जारी भएको छ । माघ महिनामाका वैदेशिक रोजगार बीमाको दायित्व (बीमाङ्क रकम) ३ खर्ब ४७ अर्ब २५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल, मेट लाइफ, सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।

चालु आवको माघ महिनासम्ममा वैदेशिक बीमा मार्फत सबैभन्दा धेरै बीमा शुल्क सन नेपाल लाइफले संकलन गरेको छ । सो अवधिमा कम्पनीले ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने ६ लाख ९४ हजार ३८६ रहेको छ । माघ महिनामा मात्रै कम्पनीले ७ करोड ६२ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले १८ हजार ७१७ वटा बीमालेख जारी गरेको छ ।

दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफले भने ३४ करोड ३३ लाख ६७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कुल सक्रिय बीमालेखको संख्या भने २ लाख ८९ हजार ९९८ देखिएको छ । कम्पनीले गत माघ महिनामा मात्रै ३ हजार ४४१ वटा बीमालेख जारी गरेको छ भने १ करोड ३८ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको माघ महिनासम्ममा आइएमई लाइफले २३ करोड ९६ लाख ५९ हजार रुपैयाँ, सानिमा लाइफले १४ करोड ९४ लाख १९ हजार, सिटिजन लाइफले १३ करोड ४६ लाख १९ हजार, नेपाल लाइफले १३ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कम्पनीहरुको सक्रिय वैदेशिक बीमालेखको संख्या भने क्रमशः ६० हजार ३४९, ३४ हजार ९१५, १ लाख ४४ जहार ७५९, ८३ हजार ८१३ रहेको छ ।

यस्तै, माघ महिनामा सबैभन्दा कम बीमा शुल्क प्रभु लाइफको देखिएको छ । कम्पनीले १ करोड ६८ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । माघ महिनासम्ममा कम्पनीको सक्रिय बीमालेखको संख्या भने ३ हजार ३८५ वटा रहेको छ ।

त्यसैगरि रिलायबल नेपालले ८ करोड ८४ लाख ४२ हजार रुपैयाँ, नेशनल लाइफले ५ करोड ९५ लाख ६१ हजार र रिलायन्स लाइफले २ करोड ७३ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।