सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ‘पुँजीमा सबैभन्दा ठूलो, व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि’
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ‘पुँजीमा सबैभन्दा ठूलो, व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि’
काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट बुधबारदेखि उक्त दुई कम्पनीले एकीकृत कारोबार सुरु गरेका हुन् ।
बुधबार काठमाडौंको ह्यायत होटेलमा एक बिशेष समारोह गर्दै उनीहरुले एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले मर्जपछि कम्पनीमा नयाँ सिनर्जी आएको बताए । यद्यपि, कम्पनीको व्यवसायलाई थप बढाउन अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
‘नियामक निकायको नजरमा यी दुवै कम्पनी राम्रो थिए । त्यो अवस्थामा यी दुई कम्पनी मर्ज हुदाँ नयाँ सिनर्जी आएको छ,’ उनले भने, ‘तर, मर्ज भएर मात्रै हुँदैन । अब कम्पनीले नयाँ–नयाँ बीमा पोलिसी ल्याउनुपर्छ । साथै, डिजीटाइजेशनमा समेत जोड दिनुपर्छ ।’
अध्यक्ष सिलवालले भुगोल अनुसारको बीमा पोलिसी ल्याउनुपर्नेेमा पनि बीमा कम्पनीहरु अग्रसर हुनुपर्ने बताए । ‘अहिले प्रचलित पोलिसी काठमाडौैं भन्दा बाहिरको जिल्लाको लागि त्यति काम लाग्दो छैनन् । नेपाल भौगोलिक रुपमा विविधता छ,’ उनले भने, ‘त्योअनुसाररभौगोलिक अवस्था अनुसार फरक फरक बीमा पोलिसी ल्याउने बिषयमा कम्पनी अग्रसर हुनुपर्छ ।’ साथै, कम्पनीहरुले काठमाडौ बाहिर गएर व्यवसाय गर्न पनि अग्रसर हुनुपर्ने उनले बताए ।
यस्तै, कम्पनीहरुले आफ्नो पुँजीहरुअनुसारको व्यवसायीक रोडम्याप बनाएर समेत अघि बढ्नुपर्ने उनको भनाइ छ । कम्पनीले पूँजी मात्र बढाएर खास अर्थ नराख्ने उनको भनाइ छ । ‘मर्जर गरेर पँजी बढाएर हुदैन । पूँजी अनुसारको व्यवसाय गर्नुपर्छ । दावी भुक्तानीमा पनि समयमा दिन पर्यो,’ उनले भने, ‘समग्रमा मर्जपछि व्यवसायमा केही नविनतम देखिन पर्यो ।’ साथै, बीमा बजारलाई विश्वसनीय बनाउन समयमा दावी भुक्तानी गर्नुपर्ने उनको भनाइ छ । दावी भुक्तानी पाएनौ भनेर ग्राहकबाट गुनासो आउने बातावरण बनाउन नहुने उनले बताए । ‘कम्पनीले दावी भुक्तानी समयमै गरेपछि मात्रै उसको लोकप्रियता बढ्ने हो । तसर्थ, कम्पनीहरुले दावी भुक्तानीमा जोड दिनैपर्छ,’ उनले भने ।
यस्तै, अध्यक्ष सिलवालले मर्जपछि कर्मचारी समायोजनमा समस्या आएमा प्राधिकरणले कारवाही समेत गर्ने बताए । ‘एकीकृत कारोबारसम्म बीमा कम्पनीहरुको मर्जर सफल नै भएको छ । यदि, निकट भविष्यमा कर्मचारी समायोजनमा कुनै समस्या आयो, कर्मचारीहरु पिडित भए भने प्राधिकरणले कारवाही समेत गर्न सक्नेछ,’ उनले भने ।
मर्जर समारोहमा अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई कम्पनीको संयुक्त अनुभवले बीमा क्षेत्रमा अतुलीनीय सहयोग पुग्ने बताए । ‘मर्जपछि कम्पनीको वित्तिय सुचक उलेख्य रुपमा बढेको छ । जसले गर्दा अब हामीले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने छौं,’ उनले भने, ‘ हामीले मर्जअघि पनि बीमा सेवा राम्रै दिएका थियौं । मर्जपछि पनि यसलाई निरन्तरता दिन्छौं । साथै, बीमा सेवालाई अझ गुणस्तर बनाउछौं । हामी मर्जरमा जानुको मुख्य उद्देश्य नै बीमा सेवालाई गुणस्तरीय बनाउनु हो ।’ समग्रमा नेपाली बीमा क्षेत्रमा यो मर्जर कोसेढुंगा सावित हुने उनले दावी गरे ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ विरेन्द्र बैदावरले समयमै एकीकृत कारोबार गर्न सफल भएको बताए । ‘बीमा क्षेत्रमा मर्जर आफैमा जटिल प्रक्रिया हो । त्यसलाई सहज रुपमा सम्पन्न गर्न सफल भयौं,’ उनले भने, ‘बीमा क्षेत्रको स्वतस्फूर्त विस्तार र विकास गर्न मर्जर आवश्यक थियो, यसमा हामी सफल भयौं ।’ मर्जपछि कम्पनीको व्यवसायिक प्रतिस्पर्धात्मक क्षमता पनि वृद्धि भएको सीईओ बैदावरले बताए ।
सोही अवसरमा निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले मर्जरबाट बीमा क्षेत्रको अस्वस्थ प्रतिस्पर्धा हटाउन सहयोग पुग्ने बताए । ‘बीमा कम्पनीको संख्या बढी हुदाँ अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । मर्जर मार्फत कम्पनीको सख्या घट्दा अस्वस्थ प्रतिस्पर्धा हट्ने अपेक्षा छ,’ उनले भने,–‘साथै, अब गाउँ–गाउँमा गुणस्तरीय सेवा प्रदान गर्न समेत सहयोग पुग्ने देखिन्छ ।’ मर्जर मार्फत कम्पनीको चुक्तापुँजी ठुलो हुदाँ सेवाको दायरा पनि फराकिलो हुनुपर्ने उनले बताए ।
यता, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले मर्जर मार्फत ल्याएको उद्देश्यलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘मर्ज भएका कम्पनीको क्रियाकलप अरुको लागि पनि उदारहण हुनुपर्छ, जुन क्रियाकलाप अन्य कम्पनीले पनि सिक्न सकुन्,’ उनले बताए ।
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच गत असार २७ गते मर्जर सम्वन्धी प्रारम्भिक सम्झौता भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर दुई कम्पनीले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । यो निर्जीवन बीमा क्षेत्रको तस्रो मर्जर हो । यी कम्पनीहरु १ः१ अनुपातमा मर्ज भएका हुन् । मर्जपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुगेको छ । जुन, नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी (२ अर्ब ५० करोड) भन्दा धेरै हो ।
यी दुई कम्पनीलाई मर्जरमा जानका लागि नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रार्डको कार्यालयबाट फागुन ८ गते स्वीकृति प्राप्त भएको थियो । मर्जपछि बनेको नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैदावर भएका छन् । नयाँ बनेको कम्पनीको अध्यक्ष सुरेश लाल श्रेष्ठ चयन भएका छन् ।
बुधवार बसेको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको संयुक्त बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको सञ्चालक समिति सदस्यमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् । यता, प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएको बताइएको छ । नयाँ संचालक समितिले कम्पनी सचिवको जिम्मेवारी सुदर्शन आचार्यलाई दिएको छ ।













