ईङवा हाइड्रोपावरको आइपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज (फागुन २१ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थाननीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं। २ र वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन आगामी चैत ८ गतेसम्म दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।













