२० श्रावण २०८३, बुधबार

बढ्दै सामाजिक सुरक्षामा सूचीकृत हुनेको संख्या: साढे ३० अर्ब संकलन, ३ अर्ब ७० करोड दावी भुक्तानी



काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई साढे ३ अर्ब रुपैयाँ बढी दावी भुक्तानी गरेको छ ।

कोषले हालसम्म योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा ३ अर्ब ७० करोड रुपैयाँ दावी भुक्तानी गरेको हो । कोषले सार्जजनिक गरेको चालु आर्थिक वर्षको फागुन २४ गतेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

कोषले योगदानकर्तालाई औषधि उपाचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ ।

सोमध्ये सबैभन्दा धेरै दावी भुक्तानी वृद्धा अवस्था सुरक्षा योजना मार्फत ३ अर्ब १५ करोड १४ लाख ४८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यस योजनामा दावी भुक्तानी संख्या (पटक) भने ४१ हजार ५६८ रहेको छ । कोषका अनुसार सो योजनामा कुल ३९ हजार १७० जनाले दावी गरेका छन् ।

सो अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ४३ करोड ४७ लाख ३५ हजार रुपैयाँ दावी भुक्तानी भएको कोषले जनाएको छ । यस योजना मार्फत दावी गर्नेको संख्या २५ हजार ८८३ रहेका भने ५३ हजार ३३४ पटक दावी भुक्तानी भएको छ ।

यस्तै, आश्रित परिवार सुरक्षा योजना मार्फत ६ करोड २८ लाख ५२ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ५ करोड १५ लाख ८० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यी योजना अन्तर्गत कोषले दावी भुुक्तानी संख्या (पटक) क्रमशः ६ हजार ६४५ र १ हजार ८६३ रहेको छ ।

कोषको २०६७ चैत ७ गते स्थापना भएको हो । कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो। रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकम मध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ । वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्ने व्यवस्था समेत रहेको छ ।

योगदान रकम संकलन साढे ३० अर्ब नाघ्यो

सामाजिक सुरक्षा कोषमा योगदन रकम संकलन साढे ३० अर्ब नाघेको छ । तथ्याङ्क अनुसार योगदान रकम संकलन ३० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

कोषका अनुसार सबैभन्दा धेरै वृद्धि अवस्था सुरक्षा योजनामा २० अर्ब २ करोड ५६ लाख ९ हजार रुपैयाँ रकम संलकन भएको छ। सो अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ९३ करोड १६ लाख ५३ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १ अर्ब ३० करोड ४३ लाख १४ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा २५ करोड १५ लाख ४६ हजार, साधारण अवकाश कोषमा ६ अर्ब ३६ करोड १५ लाख ९५ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

त्यसैगरि विशेष सुविधा आवकाश बचत कोषमा ६८ लाख ७ हजार रुपैयाँ, अतिरिक्त योगदान कोषमा ३० करोड ७१ लाख १४ हजार, अन्य कोषबाट स्थानान्तरण २९ करोड ४५ लाख ७ हजार, अवकाश प्रतिफल कोषमा १९ करोड ९४ लाख ५४ हजार र निवृत्तिभरण प्रतिफल कोषमा ८५ करोड ४२ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।

आवद्ध हुने योगदानकर्ता ४ लाख

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ता र सूचीकृत रोजगारदताको संख्या बढ्दै गएको छ । हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या ४ लाख नजिक पुगेको छ । सो अवधिमा ३४ लाख ९७ हजार ९२८ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सो अवधिमा सूचीकृत हुने रोजगारदाताको संख्या भने १७ हजार ७०९ पुगेको छ ।

सामाजिक सुरक्षा कोषमा सबैभन्दा धेरै बागमती प्रदेशबाट योगदानकर्ता आवद्ध भएका छन् । सो प्रदेश मार्फत ३ लाख ५ हजार ९९३ योगदानकर्ता आवद्ध छन् । बागमतीमा सूचीकृत हुने रोजगारदाताको संख्या १२ हजार २३३ रहेको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ता र सूचीकृत रोजगारदाताको संख्या कर्णाली प्रदेशबाट कम देखिएको छ । सो प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ता १ हजार २१६ र सूचीकृत हुने रोजगारदाताको संख्या २४३ रहेको छ ।

सामाजिक सुरक्षा कोषमा कोशी प्रदेशबाट ३८ हजार ७३६, मधेशबाट २१ हजार २२२, गण्डकीबाट १५ हजार १७०, लुबिनीबाट १४ हजार ६७ र सुदुरपश्चिमबाट १ हजार ५२४ योगदानकर्ता आवद्ध भएका छन् । यी प्रदेशहरुबाट सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः १ हजार ८६०, ८०९, ८३०, १ हजार ४७८ र २५६ रहेको छ ।