१० श्रावण २०८३, आइतबार

बीमा पोलिसी त्याग्ने क्रममा देखिएन सुधार: एक महिनामै ४५ प्रतिशतले बढे, १ अर्ब ३२ करोडको सरेन्डर

बीमा पोलिसी त्याग्ने क्रममा देखिएन सुधार: एक महिनामै ४५ प्रतिशतले बढे, १ अर्ब ३२ करोडको सरेन्डर



काठमाडौं । जीवन बीमा कम्पनीमा बीमितहरुले बीमालेख त्याग (सरेन्डर) गर्ने संख्या बढ्दो क्रममा छ । पछिल्लो एक महिनामै बीमा सरेन्डर ४५ प्रतिशतले बढेको देखिएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनामा १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका बीमितले सो महिनामा ९ हजार ८३९ वटा बीमालेख सरेन्डर गरेका हुन् ।

जुन गत पुस महिनाको तुलनामा ४५.०७ प्रतिशतले बढी हो । पुस महिनामा मात्रै बीमितहरुले ८७ करोड ४३ लाख ३० हजार रुपैयाँ बराबरको ६ हजार ७८२ वटा बीमालेख सरेन्डर गरेका थिए ।

बीमा अभिकर्ताहरुले कमिशनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्या बढेको विज्ञहरुका भनाई छ । पछिल्लो समय अन्डरराइटिङ राम्रो नगरी र बुझ्दै नबुझी बीमा पोलिसी किनबेच भइरहेकोले पनि सरेन्डर गर्ने बढेको उनीहरु बताउछन् । बीमा योजनाको बारेमा राम्रोसंग बुझेर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद गर्ने अभ्यास नहुँदा पनि सरेडन्डर हुने गरेको सरोकारवालाहरुको तर्क छ ।

यता, बीमा सरेन्डर कम गराउनका लागि प्राधिकरणले निर्देशिका मार्फत नयाँ व्यवस्था समेत जारी गरेको छ । नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न नपाउने उल्लेख छ । यस्तो व्यवस्थाले बीमालेख सरेन्डर दर घट्दै जाने प्राधिकरणले जनाएको छ । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा सरेन्डर नेपाल लाइफ इन्स्योरेन्स को देखिएको छ । माघ महिनामा मात्रै कम्पनीको ३८ लाख ३ हजार ६१ रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो । कम्पनीका २ हजार ७१९ बीमितले सो रकम बराबरको बीमालेख त्याग गरेका हुन् । गत पुस महिनामा मात्रै कम्पनीमा ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको २ हजार ८३५ बीमितले बीमा सरेन्डर गरेका थिए ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) को पनि ३० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । कम्पनीका १ हजार ५८५ बीमितले सो बराबरको रकम सरेन्डर गरेका हुन् ।
तेस्रो स्थानमा रहेको एशियन लाइफको भने २१ करोड ३२ लाख ३५ हजार रुपैयाँ बराबरको १ हजार ४९३ बीमितले सरेन्डर गरेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार माघ महिनामा सबैभन्दा कम बीमा सरेन्डर सानिमा लाइफको देखिएको छ । सो महिनामा कम्पनीको ४५ लाख ८३ हजार रुपैयाँ बराबरको २८ बीमितले सरेन्डर गरेका छन् ।

यस्तै, नेशन लाइफको १४ करोड ७३ लाख ५९ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको १० करोड ८६ लाख ६५ हजार रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यी दुवै कम्पनीका क्रमशः ८०२ र १ हजार ६६२ बीमितले सो रकम बराबरको बीमा सरेन्डर गरेका हुन् ।

माघ महिनामा मेट लाइफको ३ करोड १७ लाख ८३ हजार, युनियन लाइफको २ करोड ३२ लाख प्राइम लाइफको २ करोड २६ लाख ९४ हजार, सूर्यज्योति लाइफको २ करोड ११ लाख १० हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यी कम्पनीहरुका क्रमशः ३५४, ७६, ४०२, ६१ बीमितहरुले सो बराबरको रकम सरेन्डर गरेका हुन् ।

यता, माघ महिनामा गुराँस लाइफका बीमितले १९६ वटा, सन नेपाल लाइफ ४४ वटा, रिलायन्स लाइफका ६५, रिलायवल नेपालका १३९ वटा, सिटिजन लाइफको ७८, प्रभुको ३०, महालक्ष्मीको ३९ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।