सकरात्मक बन्दै अर्थतन्त्र: बाह्य सूचकमा सुधार, कस्तो छ देशको वर्तमान अवस्था ?
काठमाडौं । नेपाली अर्थतन्त्रका सूचकमा सुधारको संकेत देखिएको छ । पछिल्लो समय आर्थिक सूचकहरु सकरात्मक बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को सात महिना देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले पनि नेपाली अर्थतन्त्र सकरात्मक बन्दै गएको देखिएका छ ।
चालु आवको माघ मसान्तसम्ममा रेमिट्यान्स वृद्धि, विदेशी विनिमय सञ्चिति वृद्धि, सोधानान्तर स्थिति बचत लगायतका सुचकमा सकरात्मक सुधार आएको छ ।
१३.८ प्रतिशतले बढ्यो विदेशी संचिति, सात महिनामा १३ खर्ब ८३ अर्ब पुग्यो
चालु आवको ७ महिनामा मसान्तसम्ममा विदेशी विनिमय संचिति १३.८ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा कुल विदेशी विनिमय १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएको छ । योसंगै चालु आवको माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । तर, चालु आवको माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ७ महिनामा १६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब २८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत, असार मसान्तमा भने १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तमा २.६ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा यस्तो संचिति १ खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा यस्तो संचिति १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको ७ महिनामा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
चाुल आवको माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
शोधानान्तर स्थिति १ खर्ब ३३ अर्ब बचतमा
चालु आवको ७ महिनामा शोधानान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँ बढीले बचतमा रहेको छ । चालु आवको माघ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।
यस्तै, समिक्षा अवधिमा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।
२७ प्रतिशतले बढ्यो रेमिट्यान्स, करिव ७ खर्ब भित्रियो
चालु आवको सात महिनामा करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ । चालु आवको माघ मसान्तसम्ममा नेपालमा भित्रने रेमिट्यान्स ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । जुन, गत वर्षको समिक्षा अवधिमा २७.१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।
चालु आवको माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।
महंगी भने ७.८८ प्रतिशत पुग्यो
चालु आवको माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४प्रतिशत रहेको थियो । समिक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।
समिक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।
समिक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्षको माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घट्यो
चालु आवको सात महिनामा कुल वस्तु निर्यात २९.० प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आवको सात महिनामा कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई रु.९१९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत
र २२.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
सात महिनामा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समिक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो
सो अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २८ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको थियो ।













