१९ श्रावण २०८३, मंगलबार

डिजिटल बैंकिङ्ग कारोबार बढ्यो: मोबाइल बैंकिङ्ग र क्यूआर कोडमा आकर्षण



काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग कारोबार ह्वात्तै वृद्धि भएको छ । पछिल्लो समयमा डिजिटल कारोबार निकै नै लोकप्रियता बन्दै गएको पाइन्छ । डिजिटल कारोबारलाई नेपाल राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ ।

विशेषतः कोरोना महामारीपछि आम मानिसमा विद्युतीय भुक्तानी तर्फ आकर्षण बढेको तथ्याङ्कले देखाउछन् । नेपालमा कोरोना महामारीपछि मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको हो ।
सरकारले पनि प्रविधिको विकाससँगै कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ ।

राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको बताउँछन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।

राष्ट्र बैैंकको तथ्याङ्क अनुसार पछिल्लो एक महिनामै मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत, वर्षको माघ महिनाको तुलनामा भने ८५.५३ प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा मोबाइल बैंकिङ्ग मार्फत ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । गत पुसमा मात्रै १ खर्ब ६७ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । चालु आवको माघ महिनामा २ करोड २२ लाख १६ हजार ८० पटक मोबाइल बैंकिङ्ग मार्फत कारोबार भएको छ । सो महिनासम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या भने २ करा.ड ३६ हजार ५२४ रहेको छ । तर, गत वर्षको समिक्षा महिनामा १ करोड ६४ लाख ७६ हजार ७ सय मात्रै रहेको थियो ।

चालु आवको माघ महिनामा क्यूआर कोड मार्फत हुने कारोबार पनि वृद्धि भएको छ । गत वर्षको माघमा ९ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा यस वर्षको सोही महिनामा भने १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार गत पुस महिनामा भने १७ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार क्यूआर कोड मार्फत भएको थियो । माघमा ५७ लाख ८२ हजार २६५ पटक क्यूआर कोड मार्फत भुक्तानी भएको छ ।

यस्तै, माघ महिनामा कनेक्ट आईपीएस मार्फत ३ खर्ब २८ अर्ब ३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अहिले नेपालमा आईपीएस सदस्यको ११३ वटा रहेको छ ।

सो महिनामा इन्टरनेट बैंकिङ्ग मार्फत १२ अर्ब ४१ करोड ९० लाख (२ लाख ५८ हजार ४१२ पटक), वालेट मार्फत १७ अर्ब ११ करोड ८० लाख रुपैयाँ (१ करोड ६९ लाख ६० हजार ८२८ पटक) बराबरको कारोबार भएको छ । हाल नेपालमा इन्टरेनेट प्रयोगकर्ताको संख्या १७ लाख ६४ हजार ८०१ रहेको छ ।